नवराज श्रेष्ठ
रामेछाप, भदौ ४ गते । रामेछापको खाँडादेवी गाउँपालिकाका नाङ्गो पाखालाई फलफूल बगैँचा बनाउने अभियान सुरु भएको छ । अहिले खाँडादेवी गाउँपालिका–४, पकरबासको ठुलो सामुदायिक वन क्षेत्रबाट यो अभियान सुरु भएको हो । वन कार्यालय रामेछाप र गाउँपालिकाको सहकार्यमा ठुलो सामुदायिक वन उपभोक्ता समितिले यो अभियान सुरु गरेको हो ।
एक हजार दुई सय बिरुवा रोपेर सुरु गरिएको वन हरियाली कार्यव्रmम अहिले फलफूल बगैँचामा रूपान्तरण हुँदै गएको छ । यो क्षेत्रमा पानीको मुहान÷स्रोत नभएकाले लिफ्ट गरेर पानीको व्यवस्थापन गरिएको छ । स्थानीय भटौली खोलाको पानी लिफ्ट गरेर जङ्गलको बिचमा निर्माण गरिएको ठुलो ट्याङ्कीमा जम्मा गरिन्छ । त्यो ट्याङ्कीको पानी सिँचाइ गर्न ठाउँ ठाउँमा पु-याउन अरू प्लास्टिक पोखरी बनाइएको छ । लिफ्ट सिँचाइका लागि खाँडादेवी गाउँपालिकाले १० लाख रुपियाँ लगानी गरेको छ ।
१२ हजार बिरुवा रोपियो
ठुलो सामुदायिक वन उपभोक्ता समितिले वन कार्यालय, रामेछाप तथा गाउँपालिका र वडा कार्यालयसमेतको सहयोगमा वन क्षेत्रमा विभिन्न जातका फलफूलका बिरुवा लगाएको छ । सामुदायिक वन क्षेत्रमा घेराबार गरी फलफूललगायतका बिरुवा लगाइएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष युवबहादुर मानन्धरले बताउनुभयो । “फलफूलका बिरुवा लगाउँदा सामुदायिक वनबाट आम्दानी लिन सकिने र त्यसबाट विभिन्न सामाजिक काम गर्न मिल्ने भएकाले फलफूलका बिरुवालाई प्राथमिकता दिइएको हो,” उहाँले भन्नुभयो ।
वन क्षेत्रमा चिउरीका चार हजार, जामुनोका तीन हजार पाँच सय र फडिलका एक हजार बिरुवा लगाइएको जानकारी उहाँले दिनुभयो । यसै गरी लिची, कपुर, कटहर र आँपका एक÷एक सय तथा ओखरका ५० बिरुवा लगाइएको उहाँले बताउनुभयो । यसबाहेक मसलाका पाँच सय, मलेसियन सालका एक हजार, राजवृक्षलगायतका बिरुवा पनि वन क्षेत्रमा लगाइएको छ । सो वनमा दुई वर्षअघि पाँच सयभन्दा बढी आँप र त्यति नै सङ्ख्यामा कागतीका बिरुवा लगाइएको थियो ।
बिरुवा खरिद गर्न वन कार्यालयले २० लाख रुपियाँ उपलब्ध गराएको थियो भने खोलाबाट पानी तान्न खाँडादेवी गाउँपालिकाले १० लाख रुपियाँ उपलब्ध गराएको खाँडादेवी गाउँपालिका–४ का वडाध्यक्ष कृष्ण पौडेलले जानकारी दिनुभयो । “नाङ्गो पाखालाई फलफूल बगैँचा बनाउन प्रभावकारी देखिएको छ । यसलाई ध्यानमा राखेर वृक्षरोपण कार्यलाई अर्को वर्ष पनि निरन्तरता दिन्छौँ,” उहाँले भन्नुभयो ।
आँपले आगामी वर्षदेखि आम्दानी दिने
वन क्षेत्रमा लगाइएका पाँच सयभन्दा बढी आँपका बोटले अर्को वर्षबाट उत्पादन दिन सुरु गर्ने खाँडादेवी गाउँपालिका–४ का पूर्ववडाध्यक्ष धनबहादुर मानन्धरले बताउनुभयो । “वनमा लगाइएका पाँच सय आँपका बोटले आगामी वर्षबाट उत्पादन दिन थाल्छ । बिरुवाले फल दिन लागेपछि आम्दानी सुरु हुने र पाले तथा कामदारलाई त्यसैले पाल्छ,” उहाँले भन्नुभयो ।
वारिपारिबाट हेर्दा पूरै नाङ्गो देखिने पाखो बिस्तारै हरियो बन्दै गएको पनि मानन्धरले बताउनुभयो । उहाँले भन्नुभयो, “अब केही वर्षमा वारिपारिबाट हेर्दा नाङ्गो डाँडो हरियाली हुन्छ । म वडाध्यक्ष हुँदा सबैले नाङ्गो पाखो भनेर जिस्क्याउँथे । त्यही कुराले छोएर सुरु गरिएको यो अभियान जुनसुकै हालतमा सफल बनाउनु छ ।”
यो सामुदायिक वनमा अहिले आँप, लिची, कटहर, बेल, चिउरी, कागती, ओखर, लप्सी, फडिल, जामुनोलगायतका फलफूलका बिरुवा हुर्कंदै छन् । राजवृक्ष, कपुर, मसला, गुलमोहरलगायतका बिरुवा पनि हुर्किंदै छन् ।
वनको आम्दानी पढाइमा
वन उपभोक्ता समितिले वनबाट आम्दानी सुरु भएपछि त्यो आम्दानी उपभोक्ताका छोराछोरीको पठनपाठन सुधारमा लगानी गर्ने सोच पनि बनाएको छ । वनको आम्दानीले उपभोक्ता समूहका विपन्न र जेहेनदार विद्यार्थीलाई पढाइ खर्च दिनुका साथै शिक्षकसमेत राख्न सकिने उपभोक्ता समूहका अध्यक्ष युवबहादुर मानन्धरले बताउनुभयो । जनप्रतिनिधि, स्थानीय उपभोक्ता सबै मिलेर ठुलो सामुदायिक वनका नाङ्गा डाँडा फलफूलका बिरुवाले भर्ने यो अभियानमा सबै क्षेत्रको सहयोग आवश्यक रहेको अध्यक्ष मानन्धरले बताउनुभयो । उहाँले भन्नुभयो, “यसका लागि वडा कार्यालय, गाउँपालिका, प्रदेश र केन्द्रबाट सहयोग जुटाउने प्रयास भइरहेको छ ।”
वातावरण संरक्षणका लागि खाँडादेवी गाउँपालिकाले यस्ता काममा सहयोग गर्ने खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो । “वृक्षरोपण, ‘रिचार्जेबल’ पोखरी निर्माण, फलफूल बगैँचा निर्माणलगायतका काममा गाउँपालिकाले सक्दो सहयोग गर्छ,” उहाँले भन्नुभयो ।