• १३ साउन २०८१, आइतबार

बस्तीले बिगारेको फिर्केखोला (फोटो फिचर)

blog

बुढानीलकण्ड मन्दिर नजिक खोलाको मापदण्डभित्र बनेको पोल्ट्री फर्म र भूमिहीनको खोलैमा जोडिएको बस्ती । बहाव क्षेत्रमात्र खाली बनाउँदा यहाँको बस्ती विस्थापित हुने अवस्था छ । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, साउन ३२ गते। पोखरा महानगरको मध्य भाग हुँदै बग्ने फिर्केखोला अँधेरीकुनादेखि सहरका विभिन्न क्षेत्र हुँदै फेवातालमा पुगेर मिसिन्छ। धेरै ठाउँमा अतिक्रमणमा परेको खोलाको बहाव क्षेत्र निर्धारण गरेर त्यही अनुसार मापदण्ड तोकेर यो क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने महानगरको योजना छ।

यसका लागि साउन ३ गतेबाट महानगरले खोलाको सीमाङ्कन गरिरहेको छ। सीमाङ्कन टोलीका प्रमुख नापी सर्वेक्षक वासुदेव पौडेलले बिहीबारसम्म पाँच सयभन्दा बढी पिल्लर र चिन्हहरू लगाएर खोला क्षेत्र छुटाइएको जानकारी दिनुभयो। अब करिब तीन सय मिटरमा खोलाको सीमाङ्कन बाँकी छ। 

सीमाङ्कनमा ४० जनाले दुई समूह बनाएर काम गरिरहेका छन्। बिहीबार पोखरावेंशी र अँधेरीकुना क्षेत्र अवलोकन गर्न पुग्नुभएका महानगर प्रमुख धनराज आचार्यले नापी टोलीले काम सकेको हप्ता दिनमै प्रतिवेदन दिने उल्लेख गर्नुभयो। प्रतिवेदन प्राप्त भएपछि मापदण्ड तोकी फिर्केका दुवै क्षेत्र खाली गराइने उहाँको भनाइ छ। 

यो क्षेत्रलाई फिर्के कोरिडोरको रूपमा विकास गर्ने उहाँले उल्लेख गर्नुभयो। नापी टोलीको अगुवाइ गर्नुभएका सर्वेक्षक पौडेलले फिर्के क्षेत्रमा तीन विद्यालय, १४ सामाजिक सङ्घ, संस्था, ६५ कच्ची संरचना र ५१ पक्की संरचना खोलाको बहाव क्षेत्रमै देखिएको जानकारी दिनुभयो। 

उहाँ भन्नुहुन्छ, “केही संरचना पूरै खोलाको बहाव क्षेत्रमै भेटिए, केही भने आंशिक रूपले यो क्षेत्रमा परेका छन्। बहाव क्षेत्रपछि मापदण्ड छुटाउँदा अझ धेरै संरचना हटाउनुपर्ने देखिन्छ।”