• ३० वैशाख २०८२, मङ्गलबार

आफ्नै स्रोतबाट पुल निर्माण गर्दै मेलम्ची

blog

चित्र मिजार

सिन्धुपाल्चोक, साउन ११ गते । मेलम्ची नगरपालिकाले आफ्नै स्रोतबाट वडा नं. ११ को फट्टेस्थित मेलम्ची नदीमा मोटरेबल पुल निर्माण गर्ने भएको छ । २०७८ असार १ को भीषण मेलम्ची बाढीले फट्टेको पक्की पुल बगाएपछि दुई वर्षसम्म अस्थायी रूपमा नदीमा ह्युमपाइप राखेर स्थानीयले आवतजावत गर्दै आएका थिए । 

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले उक्त स्थानमा पक्की पुल निर्माण गर्न सङ्घ, प्रदेशलगायतका निकायलाई पटक पटक गरिएको आग्रहलाई बेवास्ता गरिएको उल्लेख गर्नुभयो । नगर आफैँले पक्की पुल बनाउन लागेको उहाँको भनाइ छ । सङ्घ र प्रदेश सरकारले पुल बनाउन चासो नदिएका कारण नगरले जसरी पनि फट्टेमा मोटरेबल पुल बनाएर स्थानीयलाई सहज बनाउने उहाँले बताउनुभयो । आइतबार बसेको नगरपालिकाको कार्यपालिका बैठकले पक्की पुल निर्माण गर्न तत्काल विस्तृत परियोजना प्रस्ताव (डिपिआर) का लागि बोलपत्र आह्वानको प्रव्रिmया थाल्ने निर्णय गरेको छ । 

तीन वर्षभित्र उक्त स्थानमा पक्की पुल निर्माण गर्ने लक्ष्य राखेर मेलम्ची नगरले काम अगाडि बढाएको छ । फट्टेको मोटरेबल पुल बाढीले बगाएपछि मेलम्ची बजार, मेलम्चीकै वडा नम्बर ७, ८, ९ र १० का साथै हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङ्पाल गाउँपालिका, इन्द्रावती गाउँपालिकासँगको सम्बन्ध टुटेको थियो । बागमती प्रदेश सरकारले फट्टेमा पक्की पुल निर्माण गर्न पाँच लाख रुपियाँ विनियोजन गरे पनि पुलको डिपिआर बनाउनसमेत उक्त बजेट अपुग हुने देखिएको छ । 

जिल्ला प्रहरी कार्यालय चौताराका अनुसार २०७८ असार १ गते हेलम्बुको शिर भेग भेमाथाङ सोरिएर आएको कालो लेदोसहितको मेलम्ची बाढीले मेलम्ची र हेलम्बुका गरी छ वटा मोटरेबल पुल बगाएको थियो । साथै छ वटा झोलुङ्गे पुल, एउटा कल्भर्ट, एउटा बेलिब्रिज, १७ वटा मत्स्य फार्म, छ वटा होटल, एउटा विद्यालय, दुई सरकारी कार्यालयलगायतका संरचना बगाएको थियो । हेलम्बु गाउँपालिकाका ३०८ घर र मेलम्चीका २४ घर बाढीले बगाएको थियो । उक्त बाढीले बगाएकामध्ये हेलम्बुको तटीय भेगका छ गाउँको निशान नै बाँकी छैन ।