शालिग्राम नेपाल
चितवन, साउन ११ गते । चितवनका खैरहनी नगरपालिकाको न्यायिक समितिले एक सय ३९ वटा विवादलाई मेलमिलापबाट समाधान गरेको छ ।
गत आर्थिक वर्षमा २३४ वटा विवाद दर्ता भएकोमा एक सय ३९ वटा विवादलाई मेलमिलाप बाट समाधान गरेको कानुनी सहजकर्ता सञ्जयकुमार धौधरीले जानकारी दिनुभयो । विवादलाई संवादको माध्यमबाट समाधान गर्न सकेमा मेलमिलाप भएर पछि फेरी विवाद नआउने गरी जान सक्ने देखिएको उहाँले बताउनुभयो ।
पालिकाको न्यायिक समितिमा आएकामध्ये ११ वटा विवादलाई न्यायिक निरूपणबाट समाधान गरिएको थियो । ५२ वटा विवादहरू प्रक्रियामा र चलन चलाउनुपर्ने‚ ७ वटा विवादहरू डिसमिस र समाधान हुन नसकेका २५ वटा विवाद चितवन जिल्ला अदालतमा सिफारिस गरिएका छन् ।
न्यायिक समितिमा जग्गा साँध सिमाना एवम् खिचलाेसम्बन्धी विवाद‚ आर्थिक लेनदेन‚ श्रीमान् श्रीमती विवाद‚ ज्याला मजदुरीसम्बन्धी विवाद‚ गालीगलौज तथा कुटपिट‚ वातावरण प्रदूषण आदि जस्ता स्थानीय स्तरका विवादहरू बढी आउने गरेका छन् । कतिपय अवस्थामा निवेदकसँग यथेष्ट प्रमाण र कानुन बमोजिमको लिखतको अभावका कारण न्याय सम्पादनमा चुनौती आउने गरेको छ ।
न्यायिक समितिले ‘शान्ति‚ न्याय र मेलमिलाप प्रवर्धन कार्यक्रम’ पनि सुरुवात गरेको छ । समुदायमा विवादहरूको न्यूनीकरण गर्दै आपसी सद्भाव‚ मेलमिलापमार्फत दिगो शान्ति र न्याय स्थापना गर्ने मुख्य उद्देश्यसहित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।