हेटौँडा समाचारदाता
हेटौँडा, साउन ११ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले क्यालेन्डर बनाएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको मङ्गलबारबाट हेटौँडामा सुरु भएको वार्षिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले आर्थिक वर्षको अन्त्य चैत, वैशाखमा टेन्डर खोल्ने प्रवृत्ति हटाउँदै क्यालेन्डर बनाएर काम गर्न निर्देशन दिनुभएको हो । “अघिल्लो चार वर्षको बहुवर्षीय योजनाको मापदण्ड नहुँदा प्रदेशबाट जथाभाबी बहुवर्षीय योजना परे, धेरै गुनासा सुनिए, म आफैँ आर्थिक मामिलामन्त्री हुँदा बहुवर्षीय योजनाको मापदण्ड बनाएर त्यसलाई नियन्त्रण गरेको हुँ,” उहाँले भन्नुभयो ।
काठमाडौँ–हेटौँडा जोड्ने भैँसे–भीमफेदी, फाखेलदेखि फर्पिङसम्मको बाटो मुख्यमन्त्री भएपछि प्राथमिकताका साथ अगाडि बढाए पनि काम सुस्त र गुणस्तरीय हुन नसकेको उहाँले बताउनुभयो । गोष्ठीमा ललितपुरका कार्यालय प्रमुखलाई प्रश्न गर्दै उहाँले भन्नुभयो, “चखेलबाट जाने बाटो कति वर्षमा कहिले बन्छ ? हामीले तपाईंहरूलाई सहयोग गर्ने, तपाईंहरूले ठेकेदारलाई काम गर्न दिने हो ।” दबाब हुँदाहुँदै पनि मापदण्डभन्दा बाहिरका योजना नसमेटेको जानकारी दिँदै बहुवर्षीय योजना हाल्दा पैसा फ्रिज हुने र अरू आयोजनामा खर्च गर्न नपाउने अवस्था भएको मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो ।
भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले गुणस्तर कायम गर्दै योजनाको औचित्य पुष्टि हुने गरी काम गर्न आग्रह गर्नुभयो । उहाँले कुनै पनि योजना व्यक्तिको नभएर जनता र सरकारको भएको बताउनुभयो ।
समीक्षा गोष्ठीमा प्रदेश नीति तथा योजना आयोगका सदस्य किरणप्रसाद गजुरेल, प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय, भौतिक मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डित, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव महेश आचार्य, यातायात पूर्वाधार निर्देशनालयका निर्देशक लोकनाथ रेग्मीलगायतको उपस्थिति थियो । गोष्ठीमा कार्यालय प्रमुखहरूले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुने छ । समीक्षा गोष्ठीमा कार्यालय प्रमुखहरूले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्ने छन् ।