• १३ साउन २०८१, आइतबार

सुदूरपश्चिमका उत्कृष्ट पाँच कृषक पुरस्कृत

blog

उत्कृष्ट कृषकलाई पुरस्कार प्रदान गर्नुहुँदै मुख्यमन्त्री कमलबहादुर शाह । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, साउन १० गते । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका पाँच जना उत्कृष्ट किसानलाई पुरस्कृत गरेको छ । विभिन्न जिल्लामा कृषि कर्म गर्दैआएका उहाँहरूलाई प्रदेश स्तरीय उत्कृष्ट भीमदत्त कृषक पुरस्कार प्रदान गरिएको हो । 

पुरस्कृत हुनेमा कृषक असारेराम बडायक, प्रिन्सराज अवस्थी, पहलमान देउवा, प्रसाददत्त अवस्थी र जयन्ती भाट रहनुभएको छ । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र प्रादेशिक कृषि निर्देशनालयद्वारा बुधबार धनगढीमा आयोजित कार्यक्रमबीच कृषकलाई मुख्यमन्त्री कमलबहादुर शाहले सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गर्नुभयो । 

सो क्रममा उहाँले कृषि कार्य गरिरहनु भएका पुरस्कृत कृषकलाई कृषि पेसामा थप मिहिनेत गर्न हौसला मिल्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेशकै सर्वोत्कृष्ट कृषक घोषित असारेरामले डेढ लाख रुपियाँ पुरस्कार पाउनुभयो । 

कञ्चनपुरवासी उहाँले कृषि कार्यमा नयाँ प्रविधि भित्र्याएर थोरै लगानीमा धेरै क्षेत्रफलमा कृषि कार्य गर्न सफल हुनुभएको छ । उहाँले उखु, आलु, धानलगायतमा संयुक्त बाली खेती गर्दैआएको निर्देशनालयका प्रमुख यज्ञराज जोशीले जानकारी दिनुभयो । 

यसैगरी, सम्मानित हुनुहुने डडेलधुराका प्रिन्सिराज अवस्थी, डडेलधुराकै प्रसाददत्त अवस्थी र बैतडीकी जयन्ती भाट व्यावसायिक तरकारी खेती कृषक हुनुहुन्छ । उहाँहरूले तरकारी खेती गरेर रोजगारीसमेत सिर्जना गरेको जनाइएको छ । तीनै जनाले जनही ७५ हजार रुपियाँका दरले पुरस्कार प्राप्त गर्नुभएको छ । 

यसैगरी, पुरस्कृत कैलालीको घोडाघोडी नगरपालिकाका पहलमान देउवाले व्यावसायिक कुखुरा र बङ्गुरपालनको कार्य गर्दै आउनुभएको छ । सरकारले उहाँलाई पनि नगद ७५ हजार रुपियाँको पुरस्कार प्रदान गरेको छ ।