• १३ साउन २०८१, आइतबार

पाठेघर क्यान्सरविरुद्धको २० हजार डोज खोप नेपाल ल्याइयो

blog

चीनबाट नेपाल ल्याइएको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप । तस्बिर : सिर्जना खत्री

काठमाडौं, असार १९ गते । सरकारले किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप मङ्गलबार २० हजार डोज खोप चीनबाट ल्याएको जानकारी दिनुभयो ।

एचपिभी खोप सुरुमा परीक्षणका रूपमा १५ वर्षसम्मका किशोरीलाई लगाउने सरकारको योजना छ । यो खोप विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मान्यता प्रदान गरेको खोप हो । यही जेठसम्म एक लाख २९ हजार ३५५ जनाको निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गरेको सरकारले जनाएको छ ।

एचपीभी खोप किन आवश्यक ?

विश्व स्वास्थ्य संगठनकाअनुसार ९५ प्रतिशतभन्दा बढी पाठेघरको क्यान्सर एचपीभी भाइरसले हुने गरेको छ । एचपीभीविरुद्धको खोपले पाठेघरको मुखको क्यान्सर हुने जोखिमलाई उल्लेखनीय रूपमा कम गर्छ । अध्ययनले यो खोप सुरक्षित र प्रभावकारी रहेको देखाएका छन् ।

यो भाइरसले पाठेघरको क्यान्सर गराउनुका साथै यौनाङ्ग, टाउको, घाँटीमा पनि सङ्क्रमण गराउन सक्छ । एचपीभीबाट क्यान्सर भएकाहरूमा कुनै पनि लक्षण नदेखिने पनि सक्ने हुनाले खोप र नियमित स्क्रिनिङ गराउनुपर्ने चिकित्सकको सुझाव छ ।

नेपालमा महिलामा हुने प्रमुख क्यान्सरमा पाठेघर क्यान्सर पर्छ भने विश्वमै चौथो प्रमुख क्यान्सरको रूपमा । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२० मा ६ लाख चार हजार वटा नयाँ केस पुष्टि भएका थिए । जसमध्ये तीन लाख ४२ हजार जनाले ज्यान गुमाएका छन् । एचपीभी इन्फर्मेसन सेन्टरका अनुसार नेपालमा सन् २०२१ मा दुई हजार २४४ महिलामा पाठेघरको क्यान्सर पुष्टि भएकोमा एक हजार ४९३ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले यौनसम्पर्क भइनसकेका ९ देखि १४ वर्ष उमेर समूहका बालबालिकाका लागि एचपीभीको खोप सिफारिस गरेको छ । यो उमेर समूहमा खोप नलगाएकाले २६ वर्षको उमेरसम्म लगाउन सक्छन् । १५ वर्षमुनिका बालबालिकालाई पहिलो डोज लगाएपछि ६ महिनामा दोस्रो डोज लगाउनुपर्ने भनिएको छ ।

यसैगरी, १५ वर्षमाथिकालाई ३ डोज भनिएको छ । जुन पहिलो डोज लगाएको दुई महिनामा दोस्रो डोज र अर्को ६ महिनामा तेस्रो डोज लगाउनुपर्ने भनिएको छ । यो खोप लगाएपछि क्यान्सर नै हुँदैन भन्ने नभए पनि जोखिमलाई धेरै हदसम्म घटाउँछ । यसका लागि नियमित स्क्रिनिङ आवश्यक छ । विश्व स्वास्थ्य सङ्गठनसँग सम्बन्धित १२५ राष्ट्रले एचपीभी खोप हालसम्म भित्र्याइसकेका छन् ।