• २३ वैशाख २०८१, आइतबार

नेपालले यूएईलाई हरायो, सातौैं स्थानका लागि आयरल्यान्डसँग खेल्ने

blog

यूएईको विकेट लिएपछि नेपालका खेलाडी । तस्बिर सौजन्य : क्यान

काठमाडौं, असार १७ गते । जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटको सुपर सिक्सबाट बाहिरिएको नेपालले  प्लेअफ खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गरेको छ । 

ताकाशिंगा स्पोर्ट्स क्लबको मैदानमा आइतबार भएको खेलमा नेपालले यूएईलाई तीन विकेटले हरायो । जितका लागि यूएईले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको नेपालले ४३.२ ओभरमा सात विकेटको क्षतिमा एक सय ८५ रन जोड्दै लक्ष्य पूरा गरेको थियो । 

नेपालको जितमा दीपेन्द्रसिंह ऐरी र गुलसन झाले सातौं विकेटका लागि ४६ बलमा ४३ रनको साझेदारी गर्दै जितको लय तय गर्नुभएको हो । आठौं विकेटका लागि दीपेन्द्रले ७९ रन बनाउनुभयो । गुलसनले १२ रन बनाउनुभएको थियो । आठौं विकेटका लागि सन्दीप लामिछानेले दीपेन्द्रसँग मिलेर अविजित २३ रन बनाउनुभयो । दीपेन्द्र प्लेयर अफ दि म्याच बन्नुभयो । 

यस्तै नेपालका ओपनर कुशल भुर्तेलले ३५ र ज्ञानेन्द्र मल्लले १३ रन जोड्नुभयो । नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 

बलिङमा यूएईका मुहम्मद जवादुल्लाहले तीन तथा रोहन मुस्ताफा, सन्चित शर्मा, जुनेद सिद्दिकी र अलि नासेरले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ४६.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ८१ रन बनाएको थियो। 

यूएईका लागि कप्तानवृत्य अरबिन्दले ४४ रन बनाउनुभयो । मुस्ताफाले ३५, बसिल हमिदले २९, आर्यांश शर्माले २८,संचित शर्माले १२ र रमिज शाहजादले १० रन बनाउनुभयो । बलिङमा नेपालका सन्दीप लामिछाने र करण केसीले तीन तीन तथा प्रतिस जिसी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिनुभयो ।

यूएईविरुद्ध नेपालले गत साता वेस्ट इन्डिजसँग खेलेका तीन खेलाडीलाई परिवर्तन गरेको थियो । ओपनर तथा विकेटकिपर आसिफ शेखको स्थानमा अर्जुन साउद, कुशल मल्लको स्थानमा ज्ञानेन्द्र मल्ल र स्पिनर ललित राजवंशीको स्थानमा तीव्र गतिका बलर प्रतिश जिसीलाई मैदानमा उतारेको हो । 

सुपर सिक्सबाट बाहिरिएको नेपाल र यूएईबीचको विजेताले सातौँ स्थानका लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबार भएको अर्को प्लेअफ खेलमा आयरल्यान्डले अमेरिकालाई पराजित गरेको थियो । नेपाल र यूएईबीचको पराजित टोलीले अमेरिकासँग नवौँ र दसौँ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । 

विश्वकप छनोट अन्तर्गत समूह चरणको खेलमा समूह ‘ए’ बाट जिम्बावे, नेदरल्यान्डढ्स र वेस्ट इन्डिज क्रमशः पहिलो, दोस्रो र तेस्रो हुँदै सुपर सिक्समा प्रवेश गरेका थिए ।

नेपाल चौथो र अमेरिका पाँचौँ बन्दै प्लेअफमा पुगेको हो । यस्तै समूह ‘बी’ बाट श्रीलङ्का, स्कटल्यान्ड र ओमान क्रमशः  पहिलो, दोस्रो र तेस्रो हुँदै सुपर सिक्समा प्रवेश गरेका थिए । यस समूहबाट आयरल्यान्ड चौथो र यूएई पाँचौँ बन्दै प्लेअफमा पुगेको हो । 

नेपाल समूह चरणको पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो । अन्तिम तथा चौथो खेलमा नेपाल नेदरल्यान्ड्ससँग सात विकेटले पराजित भएको थियो । 

यस्तै सुपर सिक्स पुगेका प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुईमा रहने टोली फाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोली आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने एक दिवसीय  विश्वकपमा छनोट हुनेछन् ।

भारतमा हुने विश्वकपमा कुल १० टोली सहभागी हुनेछन् । विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्गल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन् ।

यूएईविरुद्ध नेपाल-११

रोहित पौडेल (कप्तान), अर्जुन साउद (विकेटकिपर) कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र प्रतिश जिसी ।