• १३ साउन २०८१, आइतबार

तनहुँमा व्यावसायिक अङ्गुर खेती (फोटो फिचर)

blog

अमरराज नहर्की

तनहुँ, असार १२ गते । तनहुँमा पहिलो पटक व्यावसायिक रूपमा अङ्गुर खेतीको परीक्षण सफल भएको छ । परीक्षणका लागि लगाएको अङ्गुरमा फल लागेको हो । 

परीक्षण सफल भएपछि काठमाडौं निवासी कुमार कार्कीले घिरिङ गाउँपालिका-४ बाह्रबिसेमा खेती सुरु गर्नुभएको छ । अङ्गुर खेती तनहुँको लागि नौलो व्यवसाय हो । गाउँघरमा केही एक दुई वटा बोट लगाएपनि धेरै परिमाणमा भने अङ्गुर खेती गरेको पाइँदैन ।

घिरिङ्ग भ्याइन यार्ड एण्ड रिसर्च सेन्टरले परीक्षण गरिएको अङ्गुर खेती सफल भएपछि यो वर्ष ७० रोपनी जमिनमा खेती गरिएको हो । पहिलो वर्ष १० हजार किलो अङ्गुर उत्पादन गर्ने लक्ष्य राखिएको छ । बिरुवा स्वीजरल्याण्डबाट आयात गरेर पहिलो वर्ष नौ हजार पाँच सय बिरुवा रोपिएको सञ्चालक कुमार कार्कीले बताउनुभयो । ३२ प्रजातिका विभिन्न अङ्गुरहरू परीक्षणका लागि लगाएको र फल लागेकाले उत्पादन सफल भएको उहाँले बताउनुभयो । अङ्पातले बन् भाइन्यार्ड बाइनरी नामक बाइन् बजारमा ल्याएको समेत कार्कीले बताउनुभयो । कम्पनीको वार्षिक तीन लाख लिटर वाइन उत्पादन क्षमता रहेको छ ।

प्रति ७५० एम. एल को वाइनतर्फ विभिन्न तीन भेराइतिलाई प्रति बोतल एक हजार दुई सय रुपियाँमा बजारमा ल्याइएको कार्कीले जानकारी दिनुभयो । स्थानीय सञ्जय श्रेष्ठले स्वाद गुलियो र झुप्पामा अङ्गुर लटरम्म फलेको देख्दा खुसी लागेको बताउनुभयो । जुङ्गे खोला केबलपुर १० थाक्रे गाउँपालिकामा समेत विगत १५ वर्षदेखि करिब एक सय ५० रोपनीमा खेती गर्दै आएको र वाइनका लागि अङ्गुर प्रशोधन लगायत उत्पादन उद्योग समेत सोही स्थानमा रहेको उहाँले बताउनुभयो । 

दुई वर्ष अगाडि सुरु गरिएको खेतीमा हरियोमा सुजी, क्याबिनेट क्यान्टर, मनाज, सोबिनियन ग्रिस, तथा खाने अङ्गुरमा फन्नि, सोफिया, आरकडीया, पोलिस्की, दुचबा, चालिचमान लगायतका विभिन्न प्रकारकाका बिरुवाहरू रोपिएको र उत्पादन सुरु भएको कार्की बताउनुहुन्छ । रोपेको एक वर्षमा फल दिन सुरु गर्ने जसमा पहिलो वर्षमा प्रति बोट ३-४ केजी उत्पादन हुने गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार तीन सय रुपियाँ किलोमा अङ्गुर विक्री गर्ने गरेको छ । 

चैत वैशाखमा फूल फुलेसँगै तीन महिनामा फल टिप्न तयार हुने फार्मका प्राविधिक सान्नानी तामाङले जानकारी दिनुभयो । फाल्गुनदेखि फूल खेल्ने र असारको पहिलो सातासम्म फल टिपिने उहाँ बताउनुहुन्छ । स्वीजरल्याण्डबाट प्रति बिरुवा नेपाली सात सयदेखि एक हजारसम्म पर्ने गरेको उहाँले जानकारी दिनुभयो ।  

हाल १५ जनाले रोजगारी पाएको कम्पनीले जनाएको छ । नेपालमा अङ्गुर खेती असफल हुन्छ भन्ने विश्वास र वातावरण प्रतिकूल भएको निष्कर्ष निकाल्दै अङ्गुर खेतीतर्फ सरकारले ध्यान नदिएको कार्कीको भनाइ छ । कार्की भन्नुहुन्छ, ‘‘मैले पर्यटन क्षेत्रमा काम गरेको भएतापनि कृषि क्षेत्रमा नयाँ अनुसन्धानात्मक हिसाबले अङ्गुर खेतीतर्फ आकर्षित भएको हुँ ।’’ धादिङमा भएको फार्मका लागि बागमती प्रदेश बिग फार्म नामक कार्यक्रम शीर्षकमा १२ वटा फर्ममध्येमा पर्न सफल भएको र सो बापत ५५ लाख बराबरको अनुदान रकम पाएको कार्कीले जानकारी दिनुभयो । यस वर्ष घिरिङ्ग रिसर्च सेन्टरबाट १० हजार किलो भन्दा धेरै उत्पादन लिने अनुमान कार्कीले गर्नुभएको छ । 

कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले पानी कम पर्ने स्थानमा तनहुँमा पनि व्यावसायिक अङ्गुर खेती गर्ने सम्भावना रहेको बताउनुभयो । घिरिङ गरिएको खेती अन्य कृषकको लागि पनि अनुकरणीय भएको तिवारी बताउनुहुन्छ । तिवारी भन्नुहुन्छ, ‘‘विदेशमा ज्ञान सिप लिएर केही युवाहरूले नयाँ नयाँ खेती गरिरहेका छन्, सबै कुरा सरकारको भर पर्नुपर्छ भन्ने छैन भन्ने उदाहरण मान्न सकिन्छ ।’’ सरकारको तर्फबाट जिल्लामा व्यावसायिक अङ्गुर खेतीको योजना बन्न नसकको तिवारीले बताउनुभयो ।