• १२ मंसिर २०८१, बुधबार

सुदूरपश्चिमको पहिचान

blog

सुदूरपश्चिमका चार जिल्ला डोटी, अछाम, बाजुरा र बझाङको सङ्गममा अवस्थित खप्तड प्राकृतिक रूपमा मनमोहक र सुन्दर छ । ठुल्ठुला विशाल फूलैफूलले सजिएका सुन्दर पाटन, पाटनका बिचमा बगिरहने कलकल कञ्चन पानी, वरिपरि अग्ला–अग्ला डाँडैडाँडामा भरिएका वनस्पति, घोडा र गाईबस्तुको बथान, चराको चिरबिर आवाजले खप्तडलाई साँच्चिकै जीवन्त बनाएको छ । 

उचाइ अनुसार विभिन्न वनस्पति साल, देवदार, गोबे्र सल्ला, ढिङ्ग्रे सल्ला, गुराँस, फलाँट बाँझ, अग्राख, भोजपत्र आदिले यस क्षेत्र हराभरा भएको छ । खप्तडमा ५६७ प्रजातिका फूल भएको अनुमान गरिएको छ । खप्तड जडीबुटीको पनि भण्डार हो । यहाँ चुत्रो, टिमुर, भोजपत्र, चिराइतो, झ्याउ, पदमचाल, पाँचऔँले आदि २०३ प्रजातिका जडीबुटी पाइन्छन् । खप्तड बाबाले पनि यहीँको जडीबुटीबाट ओखतीमुलो गरेर यस क्षेत्रमा प्रसिद्धि कमाउनुभएको थियो । खप्तड राष्ट्रिय निकुञ्जमा चितुवा, वनबिरालो, चरीबाघ, नीरबिरालो, कालोभालु, फ्याउरो, ब्वाँसो, बँदेललगायत २३ प्रजातिका जनावर पाइन्छन् । यहाँ डाँफे, मुनाल, शाहीबाज, सेतो गिद्ध, रानीचरी, मारुनीचरीलगायत २७८ प्रजातिका चराचुरुङ्गी पाइन्छन् ।  

खप्तड प्राकृतिक रूपमा मात्रै नभई धार्मिक आस्थाको धरोहरसमेत हो । सुन्दर खप्तडलाई भू–स्वर्गको उपमाले पनि चिनिन्छ । खप्तडको नामकरण खापड देवताको तड अर्थात् फाँट वा क्षेत्र भएकाले यसलाई खापड तड भन्दाभन्दै खप्तड भएको भनिन्छ । २२५ वर्गकिलोमिटर क्षेत्रफल खप्तड राष्ट्रिय निकुञ्जले ओगटेको छ । समुद्री सतहबाट तीन हजार ३०० मिटरको उचाइमा अवस्थित खप्तडमा २२ वटा सुन्दर घाँसे मैदान वा पाटन रहेका छन् ।

पाटनहरू मौसम अनुसार कहिले फूलैफूल, कहिले हिउँले सेताम्मे त कहिले हरियाली घाँसे मैदानका रूपमा सजिएको पाइन्छ । वर्षात्को समयमा फूलैफूलले ढकमक्क देखिने खप्तडका पाटन हिउँदमा हिउँले सेताम्मे बन्छन् । हिउँ र हरियालीसँग खप्तडको लुकामारी चलिरहन्छ । बाबा आश्रम, त्रिवेणी धाम, सहस्रलिङ्ग, डाँफेकोट, खप्तड दह, नागढुङ्गा आदि खप्तड क्षेत्रका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यस्थल हुन् । बाबा आश्रममा योगी सच्चिदानन्द सरस्वती अर्थात् खप्तड बाबाले ५० वर्षभन्दा बढी कठोर ध्यान÷साधना गरेर बिताउनुभएको थियो । गङ्गादशहराको बेला भव्य मेला लाग्ने त्रिवेणी धाम खप्तड क्षेत्रको अर्को एउटा महत्वपूर्ण धार्मिक स्थल हो । तीन वटा नदीको सङ्गमस्थल र ऐतिहासिक शिव मन्दिर रहेकाले त्रिवेणीधाममा स्नान गर्दा पुण्य प्राप्त हुने र इच्छाएको पूरा हुने विश्वास रहिआएको छ । गङ्गादशहराको मेला तथा अन्य बेलामा पनि खप्तड पुग्नेहरूले प्रायः त्रिवेणीमा स्नान गर्ने प्रचलन छ ।

जडीबुटी र वनस्पतिहरूले ढकमक्क पाटनका बिच फाँटबाट मूल फुटेर बनेका त्रिवेणीमा अवस्थित नदीमा स्नान गर्दा चिसो भए पनि स्वस्थकर हुने विश्वास रहिआएको छ । चट्टानहरूमा बनेको सहस्रलिङ्ग र डाँफेकोट पनि पुरातात्त्विक दृष्टिकोणबाट महत्वपूर्ण छन् । खप्तड क्षेत्रमा रहेको सबैभन्दा ठुलो ताल खप्तड ताल हो; जसलाई खापर दह पनि भन्ने गरिन्छ । वरिपरि डाँडैडाँडाले घेरिएको खापर दह वनस्पति र मौसम अनुसार फुल्ने फूलहरूको छाया पानीमा देखिने हुँदा यो दह निकै सुन्दर देखिन्छ । चराचुरुङ्गीको चिरबिर आवाजले शान्त र सौम्य खापर दह अझ मनमोहक लाग्छ । सर्प आकृतिमा रहेको नागढुङ्गालाई पनि नागदेवताका रूपमा पूजाआजा गरिँदै आएको छ । खप्तड घुम्नलाई उत्तम समयका रूपमा वसन्त र शरद ऋतुलाई मानिन्छ । पुस–माघमा हिउँले सेताम्मे हुने खप्तड चैत–जेठमा रङ्गीचङ्गी फूलले ढपक्कै सिँगारिएको हुन्छ । असोज–मङ्सिरमा खप्तडबाट सुदूरपश्चिमका सुन्दर हिमालहरू अपी, सैपाललगायत हिमालको दृश्यावलोकन गर्न पाइन्छ । 

खप्तड जान चार वटा मार्ग सञ्चालनमा छन्, जस अन्तर्गत बाजुरा–खप्तड, अछाम–खप्तड, डोटी–खप्तड, बझाङ–खप्तड हुन् । यसमध्ये पैदल यात्रा गर्न छोटो मार्ग बाजुरा–खप्तड हो । यसपछिको छोटो पैदल मार्ग बझाङ–खप्तड हो । धनगढीबाट करिब १४ घण्टाको बस यात्रापछि बझाङको तमैल बजार पुगिन्छ । तमैल बजारबाट सेती नदी तरेर करिब दुई घण्टाको स्थानीय जिप यात्रामा खप्तडछान्नाको दारुगाउँ पुगिन्छ । दारुगाउँमा खान, बस्नका लागि होमस्टे र केही साना होटल छन् । हामीले पनि बिहानको खाना दारुगाउँमा खाँदै खप्तडको पैदल यात्रा सुरु ग¥यौँ ।  स्थानीयलाई तीन घण्टा लाग्ने बाटोमा हामीलाई भने छ घण्टा लाग्यो । उकालो चढ्दै जाँदा लोखडामा रहेको नेपाली सेनाको ब्यारेक र निकुञ्जको कार्यालयभन्दा माथि चढ्दा बिस्तारै लेक लाग्ने र श्वासप्रश्वासमा केहीलाई समस्या आउँदो रहेछ । लोखडामा पनि केही होमस्टे छन् । त्यसपछि भने एकै पटक खप्तडको पाटन पुगेपछि मात्रै खाने, बस्ने व्यवस्था भएका होटल छन् । 

दारुगाउँबाट उकालो चढ्दै जाँदा बाटोमा भेटिएका स्थानीय भरिया तथा वृद्ध गोठालासँग कुराकानी गर्ने सुनौलो अवसर पाइयो । खप्तड बाबालाई भेटेका र सङ्गत गरेका केही वृद्ध भरिया र गोठालासँग खप्तड बाबाका बारेमा जान्ने अवसर पाइयो । अत्यधिक हिमपात हुँदा बाबा दारुगाउँमा बस्ने गरेको र कोही बिरामी हुँदा पनि जडीबुटीको ओखती गर्र्ने गरेको उनीहरूले बताए । लोखडाको उकालो सकिएपछि सुन्दर विशाल पाटन आउँछ, जुन पाटनमा पुगेपछि जोसुकैलाई पनि स्वर्गीय अनुभूति हुन्छ । उकालोको थकान र पीडा एकाएक पाटनले उडाइदिन्छ र मान्छे प्रकृतिका सुन्दर पाटनसँग हराउन पुग्छ । जताततै हरियाली र ढकमक्क फुलेका साना फूलले मान्छेलाई मन्त्रमुग्ध बनाउँछ । अग्ला अग्ला देवदार र गाब्रे सल्लाका रुखहरूले पाटनमाथिका डाँडालाई झनै अग्ला बनाएको, घोडाहरू एकनास लाइनमा चरन गर्दै गरेको दृश्य मनमोहक देखिन्छ । खप्तड क्षेत्रको दीर्घकालीन पर्यटन विकासका लागि त्यस वरिपरिका जिल्लाका स्थानीय बासिन्दालाई अतिथि सत्कार, खान बस्नको व्यवस्थापन, यातायातको व्यवस्थापन आदिका विषयमा सचेतना तथा शिक्षा दिन आवश्यक छ । 

खप्तड जाने चार वटै जिल्लाका पदमार्गलाई व्यवस्थित बनाउन स्थानीय तहको सरकारदेखि केन्द्रको सरकारले समेत ध्यान दिनुपर्ने देखिन्छ । खप्तड क्षेत्रको वनस्पति र जडीबुटीको रक्षा गर्दै यस क्षेत्रको पर्यटकीय विकासको मोडेल अवलम्बन गर्नुपर्ने देखिन्छ । खप्तड क्षेत्रको वृहत्तर विकासका लागि निकुञ्ज तथा आरक्षका अप्ठ्यारा नीतिनियमलाई परिमार्जन गर्न आवश्यक छ । 

‘पर्यावरण, सम्पदा, संस्कृति र योग ध्यान, खप्तड क्षेत्र सुदूरपश्चिमको पहिचान’ भन्ने मूल नाराका साथ पहिलो पटक पर्यटकीय क्षेत्र खप्तडमा प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन यही जेठ २३ देखि २५ गतेसम्म खप्तडमा हजारौँको उपस्थितिमा भव्य रूपमा सम्पन्न भयो । सुदूरपश्चिम प्रदेश सरकारको आयोजना र खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको व्यवस्थापनमा भएको सम्मेलनले खप्तड क्षेत्रलाई पर्यापर्यटन, धार्मिक, आध्यात्मिक, योग, ध्यान, साधना, खप्तड बाबाको विचार, दर्शन तथा संस्कृतिलाई विश्वसामु चिनाउने र विकास गर्ने उद्घोषसहित सम्मेलन आयोजना गरिएको थियो । भारतीय पर्यटकका लागि छोटो दुरीमै एक आकर्षक गन्तव्य बन्न सक्ने ढोका यस सम्मेलनमा योग गुरु बाबा रामदेव, आयुर्वेदाचार्य बालकृष्ण आचार्यको उपस्थितिले खोलिदिएको छ ।     

Author

हिरेन्द्र शाही