• ८ जेठ २०८१, मङ्गलबार

एकदिवसीय विश्वकप छनोट

अमेरिकामाथि नेपालको सानदार जित

blog

अमेरिकाको विकेट लिएपछि नेपालका खेलाडी । तस्बिर : आइसिसी

काठमाडौं, असार ५ गते । मध्यक्रमका ब्याट्सम्यान भीम सार्की र दीपेन्द्रसिंह ऐरीले सम्हालिएको पारी खेलेपछि नेपालले जिम्बावेमा जारी आइसिसी एक दिवसीय विश्वकप छनोटको दोस्रो खेलमा अमेरिकामाथि सानदार जित निकालेको छ । 

ताकाशिंगा स्पोर्ट्स क्लबको मैदानमा मंगलबार भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले हरायो । जितको लागि दुई सय आठ रनको लक्ष्य पछ्याएको नेपालले ४३ ओभरमा चार विकेटको क्षतिमा दुई सय ११ रन बनायो । 

नेपालका लागि भीम सार्कीले अविजित ७७ रनको अर्धसतकीय इनिङ्स खेल्नुभयो । सर्वाधिक रन जोड्नुभएका भिमले एक सय १४ बलमा सात चौका र एक छक्का हान्नुभएको थियो । यस्तै अलराउन्डर प्रदर्शन गर्नुभएका दीपेन्द्रसिंह ऐरीले अविजित ३९ रन बनाउनुभयो । उहाँले ३२ बलमा पाँच चौका एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । 

ओपनर कुशल भुर्तेलले ३९, कप्तान रोहित पौडेलले १६, कुशल मल्लले १३, आशिफ शेखले १२ रन जोड्नुभयो । बलिङमा अमेरिकाका स्टेभन टेलर, निसर्ग पटेल, नोस्थुस केन्जीगे र सौरव नेत्रभल्करले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा सबै विकेटको क्षतिमा दुई सय सात रन बनाएको थियो । अमेरिकाका लागि सायन जहानगिरले सतकीय इनिङ्स खेल्नुभयो । उहाँले ७९ बलमा १० चौका र तीन छक्काको सहयोगमा एक सय रन बनाउनुभएको हो । यस्तै सुसान्त मोदानीले ४२, गजनन्द सिंहले २६ र जेसि सिंहले १२ रन जोड्नुभयो । 

बलिङमा नेपालका करण केसीको प्रदर्शन दमदार रह्यो । उहाँले एक्लै चार विकेट लिनुभयो । गुलसन झाले तीन, दीपेन्द्रसिंह ऐरीले दुई र ललित राजवंशीले एक विकेट लिनुभयो । यसअघि छनोटको पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो । 


पहिलो खेलमा बलर नचल्दा हार खेपेको नेपालले अमेरिकासँग बलिङमा सुधार गरेको छ । अमेरिका आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो । जितसँगै नेपालले दुई खेलबाट दुई नै अङ्क बनाएको छ । 

छनोट खेलमा नेपाल समूह ‘ए’ मा छ । नेपालले समूहको तेस्रो खेल असार ७ गते वेस्ट इन्डिज र अन्तिम खेल असार ९ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । १० टोली सहभागी छनोट खेलको समूह ‘बी’ मा श्रीलङ्का, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) रहेको छ । 

छनोट खेलमा समूहमा शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोली आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने एक दिवसीय  विश्वकपमा छनोट हुनेछन् ।

भारतमा हुने विश्वकपमा कुल १० टोली सहभागी हुनेछन् । विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्ल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन् ।

अमेरिकाविरुद्ध नेपाल–११

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।