• १३ साउन २०८१, आइतबार

कला क्षेत्रको भूमिका विशेष : सभामुख घिमिरे

blog

काठमाडौँ, असार ६ गते  । सभामुख देवराज घिमिरेले देशको समृद्धि र पहिचानका लागि सांस्कृतिक र कला क्षेत्रको विशेष भूमिका रहेको बताउनुभएको छ । 

सांस्कृतिक संस्थानको ५१ औँ वार्षिकोत्सवका अवसरमा मङ्गलबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यहाँको सांस्कृतिक वैभवको विविधताको प्रवर्धन र प्रचारको माध्यमबाट देशको पहिचानसँगै आर्थिक समृद्धिमा योगदान पुग्ने बताउनुभयो । उहाँले ‘नाचघर’ को स्थापना लोकगीत, नृत्य, नाटक, सङ्गीत क्षेत्रको विकासका लागि भएकाले ती विधाका कार्यक्रम गर्ने मञ्च प्रदान गर्दै आएको बताउनुभयो । साथै नाचघरले ती विविध विधामा तालिम, प्रशिक्षण आयोजना गरेर मौलिक लोकसंस्कृतिको प्रवर्धन थालेपछि सांस्कृतिक संस्थानका रूपमा अगाडि बढेकामा हाल देशको विविध लोकसंस्कृतिको क्षेत्रको संवर्धनमा योगदान पु-याइरहेको स्पष्ट पार्नुभयो । 

कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक राईले सांस्कृतिक संस्थानलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सफल भएको जानकारी दिनुभयो । उहाँले लोकसंस्कृतिका विविध कार्यक्रमलाई देशव्यापी रूपमा सञ्चालन, प्रशिक्षणलगायतका योजनाका लागि संस्थानले कूटनीतिक नियोगसँग समन्वय गरेर काम गरिरहेको बताउनुभयो । महाप्रबन्धक राईले नेपालले सांस्कृतिक विविधताबाट लाभ लिन सक्ने पनि बताउनुभयो । 

कार्यक्रममा दीर्घ साधना सम्मानबाट गणेश रसिक सम्मानित हुनुभयो । त्यसै गरी  सांस्कृतिक संस्थान नाट्य पुरस्कारबाट सुषमा शाही, सांस्कृतिक संस्थान सङ्गीत पुरस्कारबाट शम्भु राई र सांस्कृतिक संस्थान नृत्य पुरस्कारबाट विमला श्रेष्ठ पुरस्कृत हुनुभयो ।

कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा पोखरेल, अशोक राई, संस्थानका उत्कृष्ट कर्मचारी केशवराजलगायतलाई कदरपत्र र प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा कलाकारले हिमाली, पहाडी, काठमाडौँ उपत्यका र तराई क्षेत्रसम्मका विविध संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति दिएका थिए ।