• ८ जेठ २०८१, मङ्गलबार

नेपाल जिम्बावेसँग आठ विकेटले पराजित

blog

रन लिएपछि नेपालका ओपनर कुशल भुर्तेल र आशिफ शेख । कुशल र आशिफले पहिलो विकेटका लागि १७१ रनको कीर्तिमानी साझेदारी गर्नुभयो । यो एकदिवसीयमा नेपालको अहिलेसम्मकै उच्च साझेदारी हो ।तस्बिर : आईसिसी

काठमाडौं, असार ३ गते । बलर नचलेपछि नेपाल आइसिसी एकदिवसीय विश्वकप छनोट खेलको उद्घाटन खेलमा घरेलु टोली जिम्बावेसँग पराजित भएको छ । हरारे स्पोर्ट्स क्लबको मैदानमा आइतबार भएको खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको हो । 

जितका लागि दुई सय ९१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको जिम्बावेले ४४.१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । जिम्बावेका लागि कप्तान क्रेज इर्भाइन र सेन विलियम्सले अविजित शतकीय इनिङ्स खेल्नुभयो ।


एक सय २१ रन बनाउनुभएका क्रेजले एक सय २८ बलमा १५ चौका र एक छक्का हान्नुभयो । सेन विलियम्सले एक सय दुई रन बनाउनुभयो । उहाँले ७० बलमा १३ चौका र एक छक्काको सहयोगमा उक्त रन जोड्नुभएको थियो ।  विस्ली म्याडहेब्रेले ३२ र ओपनर जोयलर्ड गुम्बेईले २५ रन जोड्नुभयो । बलिङमा नेपालका सोमपाल कामी र गुलसन झाले एक एक विकेट लिनुभयो । 

सन्दीप लामिछानेले १० ओभर पूरै बलिङ गर्दा एक विकेटसमेत लिन सक्नुभएन । सन्दीपसहित नेपालका बलर नचल्दा जिम्बावेले उसको घरेलु मैदानमा शानदार जित निकालेको हो । 


यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ९० रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ९९ रन बनाउनुभयो ।

कुशलले ९५ बलमा १३ चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । अर्का ओपनर आशिफ शेखले ६६ रन बनाउनुभयो । कुशल र आशिफले पहिलो विकेटका लागि एक सय ७१ रनको कीर्तिमानी साझेदारी गर्नुभएको थियो । यो एक दिवसीयमा नेपालको हालसम्मकै उच्च साझेदारी हो ।

यसअघि एक दिवसीयमा नेपालका लागि सर्वाधिक साझेदारी गत फेब्रुअरीमा नामिबियाविरुद्ध दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले एक सय ३९ रनको साझेदारी गर्नुभएको थियो ।

यस्तै कुशल मल्लले ४१, कप्तान रोहित पौडेलले ३१, गुलसन झाले १३, आरिफ शेखले १०, दीपेन्द्रसिंह ऐरीले ६ र करण केसीले दुई रन बनाउनुभयो । भीम सार्की पहिलो बलमै आउट हुनुभयो । 

बलिङमा जिम्बावेका रिचार्ड नगरभाले चार विकेट लिनुभयो । विलिङटन मासाकाड्जाले दुई तथा टेन्डई चतरा र ब्लेसिङ मुजाराबानीले एक एक विकेट लिनुभयो । 

जिम्बावेविरुद्धको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त खेल हो । नेपालले जिम्बावेसँग यसअघि एउटा मात्र ५० ओभरको खेल खेलेको थियो ।


सन् २०१८ मा जिम्बावेमै खेलेको विश्वकप छनोट खेलमा नेपाल जिम्बावेसँग एक सय १६ रनले पराजित भएको थियो । त्यतिबेला नेपालको ओडिआई मान्यता नरहेकोले लिस्ट  ‘ए’ मान्यताको खेल भएको थियो । 

विश्वकप छनोटमा नेपाल समूह ‘ए’ मा छ । नेपालले समूहको दोस्रो खेल असार ५ गते अमेरिका, असार ७ गते वेस्ट इन्डिज र असार ९ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । १० टोली सहभागी छनोट खेलको समूह ‘बी’ मा श्रीलङ्का, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । 


छनोट खेलमा समूहमा शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोली आगामी अक्टोबर(नोभेम्बरमा भारतमा हुने एक दिवसीय  विश्वकपमा छनोट हुनेछन् ।

भारतमा हुने विश्वकपमा कुल १० टोली सहभागी हुनेछन् । विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्ल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन् । 

जिम्बावेविरुद्ध नेपाल-११

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेट किपर), कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने ।