• २७ वैशाख २०८२, शनिबार

खर्च व्यवस्थापनका लागि डोका थुन्से बुन्दै किशोरीहरु

blog

फुर्सदको समयमा थुन्से बुन्दै रि धुसेनी गाउँका विद्यार्थी । तस्विर : मुरारी अधिकारी

मुरारी अधिकारी

धादिङ, असार १ गते । बेलुकीपख, धुसेनी गाउँबाट हेर्दा लतापको डाँडाबाट घाम डुब्नै लागेको थियो । गाउँका बालबालिका हतार–हतार घरभित्र जान्छन् र विद्यालयको पोसाक परिवर्तन गरेर सामान्य खाजासहित बाँसका चोया लिएर आँगनीको डिलमा बस्नुभयो । बाबुआमाले काटिदिएको बाँसको चोयाबाट कलिला बालबालिकाले निकै सुन्दर थुन्से डाला बुनेका छन् ।  

साँझपख धुसेनीमा देखिएका पासाङडोल्मा तामाङ र मेलिना तामाङ थुन्से बुन्नमा निकै व्यस्त हुनुहुन्छ । दुई जनामध्ये पासान्जेल कक्षा ७ र मेलिना कक्षा ९ मा गङ्गा–जमुना गाउँपालिका –२ तावलमा रहेको पासाङ चोक माध्यमिक विद्यालयमा अध्ययनरत हुनुहुन्छ ।

विद्यालयले दिएको गृहकार्य सक्नेबित्तिकै उहाँहरु थुन्से बुन्न थाल्नुहुन्छ । साविकको गाविसका अधिकांश बालबालिका सानैदेखि डोको, डालो र थुन्से बुन्न सिक्दैआएका छन् । पठाइ र घरको अन्य काम सकेर बचेको समय उनीहरु चोयाको डोको, डालो, थुन्सेजस्ता सामग्री बनाउँछन् ।  

धादिङको उत्तरी क्षेत्रमा पर्ने लताब, धुसेनी र तावलका ५० भन्दा बढी विद्यालय उमेरका बालबालिका बिदा र फुर्सदको समय थुन्से बुन्छन् । थुन्से बुनेर आएको रकम आफ्ना अभिभावकले सञ्चालनमा ल्याएको पासाङ चोक कृषि सहकारी संस्थामा जम्मा गर्नेगरेको धुसेनीका मेलिना तामाङले बताउनुभयो । तामाङ आफूहरुको सहकारीमा १० हजारभन्दा बढी रकम जम्मा भइसकेको बताउनुभयो । आफूहरुको सहकारीमा भएको रकमको आयस्रोत थुन्से नै भएको बताउनुभयो । 

लताब, धुसेनी, तावलका उच्च शिक्षा अध्ययन गर्ने युवा निकै कम छन् । कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षाभन्दा बैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढी भएको तावलका मानबहादुर तामाङले बताउनुभयो । 

लताब, धुसेनी, तावल लगायतका क्षेत्रका ५ वर्षभन्दा माथिका बालबालिका बाँसको चोयाबाट बन्ने थुन्से बुन्ने काम गरिरहेका छन् । बिदाको दिनमा दिनभरिमा एउटा थुन्से सजिलै बुन्न सक्ने कक्षा ५ मा अध्ययनरत सूर्य तामाङले बताउनुभयो । आफूले बुनेको थुन्सेको रकम आमाबुबाले सहकारीमा लगेर राखिदिने गरेको उहाँको भनाइ छ । 

आफ्नो नाममा रहेको रकम उच्च शिक्षाका लागि जोहो गर्ने तामाङले बताउनुभयो । कक्षा ९ मा अध्ययनरत माइत तामाङको पनि आफूले थुन्से बुनेर कमाएको रकम उच्च शिक्षाका लागि नै जोहो गर्ने सोच छ । उहाँ केही रकम घर खर्च टार्नमा अभिभावकलाई सहयोग गर्ने  बताउनुभयो । 

आफ्ना बालबालिकाको उज्वल भविष्यका लागि आफूहरुले बाल बचत गर्ने गरेको उक्त सहकारी संस्थाका अध्यक्ष कान्छाबहादुर तामाङले बताउनुभयो । तलाब, धुसेनी र तावलमा रहेका विद्यालयका शिक्षकहरुले पनि विद्यार्थीलाई सहकारीमा रकम जम्मा गर्न प्रोत्साहित गर्नेगरेको देउराली प्राथमिक विद्यायका शिक्षक राहुल तामाङले बताउनुभयो । 

थुन्से व्यापारीलाई २०० देखि २८० सम्म बेच्ने गरेको स्थानीय मायाचोम तामाङले जानकारी दिनुभयो । तामाङका अनुसार आफ्ना बालबालिकाले बुनेको थुन्से बिक्रीबाट प्राप्त रकम सहकारीमा लगेर जम्मा गरिदिने गरेका छन् । आफूहरुले पनि घर खर्चबाट बाँकी रहेको रकम सहकारीमा नै जम्मा गर्नेगरेको तामाङको भनाइ छ । 

बुनिएका सामग्री सहज रुपमा बजारसम्म लग्न सजिलो होस् भनेर चित्राफुँगा सङ्कलन केन्द्र निर्माण गरिएको गङ्गाजमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाले बताउनुभयो ।