• ६ जेठ २०८१, आइतबार

बन्द प्रसूति सेवा खुलाउन पहल

blog

गोकर्ण दयाल

बैतडी, जेठ ३२ गते । स्वास्थ्य चौकीलाई पानी नदिँदा बन्द प्रसूति सेवा सुचारु गर्न पञ्चेश्वर गाउँपालिकाले पानीका ट्याङ्कर बोलाएको छ । पञ्चेश्वर गाउँपालिका–१ स्थित पञ्चेश्वर स्वास्थ्य चौकीको प्राङ्गण भएर सल्ला बस्ती र धामकुडी मन्दिरमा जाने पाइपबाट स्वास्थ्य चौकीलाई धारा दिन सम्भाव्यता अध्ययनसमेत हुने भएको छ । 

गर्भवतीले खानेपानीको पाइप छोएमा मुहान सुक्ने डरले मन्दिर र बस्तीमा जाने खानेपानीको पाइपबाट पानी भर्न नपाउँदा पञ्चेश्वर स्वास्थ्य चौकीले प्रसूति सेवा बन्द गरेको थियो । प्रसूति सेवा बन्द भएको विषयमा गोरखापत्रमा समाचार प्रकाशित भएपछि सरोकारवाला निकायको ध्यानाकर्षण भएको छ । 

समाचार प्रकाशित भएपछि बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले गाउँपालिकालाई तत्काल प्रसूति सेवा सुचारु गर्ने व्यवस्था मिलाउन समन्वय गर्नुभएको छ । स्वास्थ्य चौकीलाई पानीको धारा दिन डिभिजन खानेपानी कार्यालयसँग प्राविधिक पठाएर सम्भाव्यता अध्ययन गरिदिन अनुरोध गरिएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो ।

अध्यक्ष चन्दले भन्नुभयो, “बन्द भएको प्रसूति सेवा चलाउन तत्कालका लागि ट्याङ्कर बोलाएका र दीर्घकालीन समाधानका लागि बस्तीमा जाने खानेपानीको पाइपबाट धारा जोड्दा पानीको चापमा असर नपर्ने गरी धारा जोड्न सम्भाव्यता अध्ययनका लागि खानेपानी कार्यालयसँग प्राविधिक पठाइदिन अनुरोध गरेका छौँ।” 

पञ्चेश्वर गाउँपालिका–१ मा रहेको पञ्चेश्वर स्वास्थ्य स्वास्थ्य चौकीछेवैबाट पञ्चेश्वर गाउँपालिका–१, सल्ला बस्तीका लागि ६० मिलिमिटर मोटो पाइपमा चौबिसै घण्टा पानी आउँछ। बस्तीका मानिसले स्थानीय धामकुडी मन्दिरलाई पानी दिए पनि स्वास्थ्य चौकीलाई पानी नदिएको पञ्चेश्वर स्वास्थ्य चौकी इन्चार्ज सुरेश सार्कीले बताउनुभयो। 

बस्ती र मन्दिरमा जाने पाइपबाट स्वास्थ्य चौकीले पानी भर्न नपाएपछि आइतबारदेखि प्रसूति सेवा बन्द गरिएको स्वास्थ्य चौकीले सूचना जारी गरेको थियो। साबिकको पञ्चेश्वर गाउँ विकास समितिभरि स्वास्थ्य सेवा दिने उद्देश्यले २०५२ सालदेखि प्रसूति सेवा दिँदै आएको छ। प्रसूति सेवा दिन चौबिसै घण्टा दुई जना अनमी स्वास्थ्य चौकीमै डेरा गरेर बस्नुभएको छ। 

स्वास्थ्यकर्मीले समेत बस्तीमा जाने खानेपानीको पाइपबाट पानी भर्न नपाउँदा अन्यत्रबाट जर्किनमा पानी बोकेर खानुपर्ने बाध्यता रहेको अनमी कोकिला भट्टले बताउनुभयो। अन्धविश्वासका कारण स्थानीयले स्वास्थ्य चौकीलाई पानी दिन नमानेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो। 

स्वास्थ्य प्रमुख भट्टले भन्नुभयो, “प्रसूति सेवाका लागि पानी उपलब्ध गराउन गत वर्षदेखि पहल गरे पनि सुनुवाइ भएको थिएन। गोरखापत्रमा समाचार प्रकाशनपछि जनप्रतिनिधिका कान ठाडा भएका छन्। पानीको समस्या समाधान हुने आशा जागेको छ।” 

‘समाचार प्रकाशनपछि तनाव दिए’ 

तर समाचार आएपछि गाउँपालिकाका स्वास्थ्य संयोजकले आफूलाई तनाव दिएको पञ्चेश्वर स्वास्थ्य चौकी इन्चार्ज सुरेश सार्कीले बताउनुभयो। 

उहाँले भन्नुभयो, “मलाई गाउँपालिका स्वास्थ्य संयोजक रामसागर शाह सरले फोन गरेर स्पष्टीकरण सोध्नुभयो। सेवा किन बन्द गरेको हो ? तपाईंलाई कारबाही हुन्छ। मैले पनि फोनबाटै तपाईं पञ्चेश्वरमा २७ वर्ष बस्नुभयो, पानीको समस्या थाहा छ कि छैन ? भने।” 

उता स्पष्टीकरण संयोजक सोध्ने शाहबारे अर्को पोल खुलेको छ। शाहले श्रीमतीलाई नक्कली स्वास्थ्यकर्मी बनाएर सञ्चालन गरेको मेडिकलमा प्रशासनले एक महिनादेखि ताला लगाएको छ। 

जिल्ला प्रशासन कार्यालय बैतडीले जेठ २ गते बजार अनुगमनक्रममा संयोजक शाहले आफ्नी श्रीमती श्यामा शाहका नामबाट मेडिकल खोलेर श्रीमतीलाई औषधी बिक्री गर्ने र बिरामी चेकजाँच गर्न लगाउने गरेको पाइएको थियो। 

अनुगमन तथा नियमन गर्ने जिम्मेवारी पाउनुभएका शाहले नै पञ्चेश्वर गाउँपालिका–४, आमचोरामा श्रीमतीका नामबाट श्यामा क्लिनिक सञ्चालन गर्दै आएको गुनासोपछि मेडिकल सिल गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। 

मेडिकल सञ्चालनसम्बन्धी कुनै शिक्षा हासिल नगर्नुभएको श्यामाले बिरामीलाई चेकजाँच गरेर औषधीसमेत दिने गर्नुभएको खुलेको छ। दिउँसो श्रीमतीले मेडिकल चलाए पनि बिहान बेलुकीको समयमा मेडिकलमा आफू बस्ने गरेको स्वास्थ्य संयोजक शाहले दाबी गर्नुभएको छ।