समाजमा सबैले देखिरहेका कुरा देख्न किताब पढ्नु पर्दैन । अरूले देख्न नसकेका कुरा देख्न र देखाउन वा धेरैले देखेकै कुरामा पनि सिर्जनात्मक मत सञ्चार गर्न साहित्य रचना गर्नु र अध्ययन गर्नु जरुरी छ । परम्परागत समाजबाट आधुनिकतातिर गइरहँदा भत्किँदै गरेको जात व्यवस्थालगायत अर्थ सामाजिक प्रणालीका बहुविध आयाम देखाइएको ‘रूपिका’ उपन्यासमा प्रेमप्रति विश्वास व्यक्त गरिएको छ । यसमा मनोभाव र सामाजिक संरचनाको अन्तव्रिर्mया स्वरूप विकास भइरहेका नयाँ मान्यता तथा तोडिँदै गएका पुराना मूल्य बिचको फरकलाई घटना र पात्रको आलम्बनमा प्रस्तुत गरिएको छ ।
उपन्यासकार केशव घिमिरेले बदलिँदो सामाजिक प्रणालीलाई सहज र सरल किसिमको प्रव्रिmयाका रूपमा देखाउनु भएको छ । यथार्थमा परिवर्तनको गति र प्रव्रिmया यति सहज हुँदैन । काजी परिवार र शर्मा परिवार बिचको सम्बन्धमा कहीँकतै जीवनमय सङ्घर्ष छैन । आन्तरिक द्वन्द्वको सङ्केत हो कि भनी अनुमान गर्न मिल्ने अति कमजोर केही आयोजनाबाहेक उपन्यासमा द्वन्द्व तìवको सर्वथा अभाव छ । द्वन्द्ववादी प्राकृतिक, भौतिक र समाज सबैतिर द्वन्द्वलाई अस्तित्वको आधार र परिवर्तनको कारण मान्दछन् । यसै पनि जीवन त सङ्घर्षमय छ नै । सङ्घर्षबिना प्राप्त उपलब्धिहरू सांयोगिक हुन सक्छन् तर नियम हुन सक्दैनन् । उपन्यासको उद्देश्य समाजको सामान्य नियम देखाउनु मात्र होइन, अपवादको रोमाञ्चकता वाचन गर्नु पनि हो भन्ने तर्क गर्न सकिन्छ तर अपवाद रोचक हुनका लागि पनि त्यसमा सङ्घर्षको सघनता निर्णायक हुन्छ ।
लेखनको उद्देश्यमा लेखकपिच्छे पार्थक्य हुनु स्वाभाविक हो । लेखनको उद्देश्य के हुनु पर्छ भन्ने कुरामा बहस गर्नु आदर्श बन्न जाला तर लेखनको उद्देश्य जे भए पनि लेखक स्वयम् त्यस उद्देश्यमा स्पष्ट हुनु नहुनुले भने धेरै ठुलो अर्थ राख्छ । उपन्यास वा कुनै पनि साहित्य लेख्नु भनेको कि त भएको कुराबाट मोडिएर चाहेको कुरामा संसारको रचना गर्नु हो, कि त भएकै कुराको अरूले नदेखेको आयाम देखाउनु हो । साहित्य लेख्दा लेखकले र पढ्दा पाठकले भावनात्मक विस्मयको मज्जा लिएको हुन्छ । कृतिमा लेखकका विश्वास, मूल्य, विचार र दृष्टिकोण प्रसारित भएका हुन्छन् । लेखकका मूल्यमान्यता, आस्था र विश्वास कति सुदृढ छन् र तिनप्रति लेखकीय चिन्तन कति फराकिलो छ भन्ने पनि कृतिले सञ्चार गरिरहेको हुने हुनाले यसबाट नै कृतिको मूल्यवत्ता कायम भएको हुन्छ । प्रेमको कथा लेखिरहँदा वा लेखकको आत्मसंस्मरण मात्र लेख्दा पनि लेखकीय दृष्टि कृतिमा मुखरित भएन भने त्यसको उद्देश्य केवल रहरमा रुमल्लिन पुग्छ र कृतिको महत्ता निर्माणमा क्षति पुग्न जान्छ । प्रस्तुत उपन्यासमा सबल बन्न नसकेको प्रमुख पक्ष लेखकीय दृष्टि वा कृतिको उद्देश्यमा रहेको दृढताको अभाव हो ।
उपन्यास लेख्नु भनेको घटना र पात्रको वर्णन मात्र भयो भने त्यो अर्थहीन प्रबन्ध मात्र बन्ने खतरा रहन्छ । उपन्यासको समग्र भाष्य, पात्र, सार वा अन्तर्वस्तु तथा कथनशिल्पको ढाँचा लेखकको दृष्टिकोणले नै निर्धारण गर्छ । हरेक लेखकको मौलिक स्वर र शैली बन्ने भनेकै उसको दृष्टकोणबाट हो । यदि दृष्टिकोण स्पष्ट भएन भने लेखक अरूको प्रभावहरूको पुञ्ज बन्ने र सिर्जनात्मकता दुर्घटित हुने अवस्था आउँछ । एकातिर गुरुप्रसाद मैनालीको आदर्श समाज अर्कातिर बुद्धिसागरको संवादशैली एवं युधिर थापा, सुविन भट्टराईसम्मका युवासुलभ मायाप्रीतिका उपन्यासको प्रभावका बिच रूपिका उपन्यासको आफ्नोपन झल्कन सकेको छैन । प्रभाव कहिलेकाहीँ सुन्दरहरूको संयोजनबाट बनेको ऊँट जस्ता बन्छन् भने कहिले लेखकीय परिपक्वताको अभाव हुँदा प्रभाव नआउनुपर्ने कुराको पनि प्रभाव आउन सक्छ । यसबाट कृतिको सौन्दर्यमा झन् ठुलो क्षति पुग्न जान्छ ।
सिर्जनात्मक दृष्टि भनेको लेखकीय कल्पना, विचार र लेखकको विश्वबोधको दायरा प्रकट गर्ने सूचक पनि हो । लेखकको क्षमता, सिप र मनोदशासमेत उद्घाटित हुने हुँदा यो संवेदनशील पनि हुन्छ । आभ्यासिक रचनामा यसलाई परिपक्वता विकासको चरणका रूपमा पाठकले स्वीकार गर्न पनि सक्लान् तर लेखकपाठक आबद्धताको एक मात्र कसी कृति हो, त्यसमा लेखक सचेत हुनै पर्छ । कथानक विकास र पात्र विधान पत्यारिलो र सिर्जनात्मक हुनु आवश्यक हुन्छ । रूपिका उपन्यासमा यो पनि खड्किएकै विषय हो । हीराकाजी अर्थात् काजीबा पात्रको चरित्र उनको व्यवहारबाट भन्दा लेखकको वर्णनबाट बुझ्नुपर्ने बाध्यता छ । हीराकाजी क्षेत्री हुन् । उनी गाउँका धनी मानिस हुन् । उनका घरमा काम गर्ने मानिस धेरै छन् । उनको खेतीपातीको काम अरू गाउँलेहरूले गरिदिन्छन् ।
यसरी हेर्दा काजीबा नाम र कामको हिसाबले नेपाली फिल्मको खलनायक सामन्त जस्ता प्रतीत हुन्छन् तर लेखक स्वयम् उनको चरित्रमा कृत्रिम आदर्श थोपरेर उनलाई एकदम दयालु, एवं गरिब, दुःखी र अशक्त व्यक्तिका सहयोगी भनेर उनमा मैनालीका मुरलीधरको मुखुण्डो भिराउने कष्टमा लाग्नु हुन्छ । न लेखकको पक्षधरता प्रकट छ, न तटस्थता खुलेको छ । न आफ्नै विश्वदृष्टि न जिज्ञासा र हुटहुटी । न संवादमा स्वाभाविकता छ न घटनाको वर्णनमा प्राकृतिक रङ । यस्तोमा आफू जस्तो बन्ने प्रयत्नको अभाव हुनु र अरू जस्तो बन्ने सान्दर्भिकता नहुनु सिर्जनाको विडम्बना बन्न जान्छ । रूपिका उपन्यासले छानेको विषय र परिवेश उपयुक्त हुँदाहुँदै पनि प्रस्तुतिको कमजोरीका कारण यही विडम्बनाको नजिक पुगेको छ ।
क्षेत्रीको छोरी र ब्राह्मणको छोराको अन्तर्जातीय विवाहको कथा बुनेर लेखकले जातीय भेदभावको विभाजक रेखाविरुद्ध आफ्नो सिर्जनात्मक चेतना जाहेर गर्नुभएको छ । तर केटी (क्षेत्री) का दाजु र आमाले सहजै मान्ने अनि केटा (बाहुन)का बाबुआमालाई स्वीकार्न गाह्रो हुने स्थितिको योजनाबाट बाहुन ठुलो हुनाले क्षत्रीको छोरीलाई स्वीकार्नु ठुलो कुरा हो तर क्षेत्रीले त बाहुन केटो पाएपछि उनीहरूलाई छोरी दिन समस्या हुने कुरा भएन भन्ने मान्यता देखापरेको छ । भविष्यमा उपन्यासकार घिमिरेमा निश्चय नै परिपक्व सुझबुझ विकास हुँदै जाने र उत्कृष्ट कृतिको रचना हुने आशा गर्न सकिन्छ । रूपिका उपन्यासमा उहाँले गर्नुभएको अर्थ सामाजिक व्यवस्थाको बदलिँदो चित्रण भने सराहनीय छ । इन्डिगो इन्क प्रकाशक रहेको यस उपन्यासको मूल्य ३४९/– रुपियाँ रहेको छ ।