• २८ वैशाख २०८१, शुक्रबार

हाम्रो विकास ‘मोडेल’बारे पुनर्विचार गर्न आवश्यक छ : प्रधानमन्त्री

blog

लुम्बिनी केबलकारको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, जेठ २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्नुपर्ने बताउनुभएको छ । बुटवलमा लुम्बिनी केबलकारको बिहीबार उद्घाटन गर्नुहुँदै  प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘हामीले अहिलेसम्म चल्दै आएको हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक छ । हालसम्मका योजनाबद्ध विकासका प्रयासबाट भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, समावेशिता जस्ता क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भए तापनि उत्पादन र रोजगारीको क्षेत्रमा हाम्रो प्रगति उत्साहजनक छैन ।’’


प्रधानमन्त्रीले सरकार इमानदारीपूर्वक विकास र समृद्धिको यात्रामा अग्रसर हुँदा, विकास र समृद्धिको मुद्दामा राजनीतिक दलहरूमा सहमति, सहकार्य र एकता कायम हुँदा र निजी क्षेत्रको साझेदारी र सहयोग रहँदा गुणात्मक सुधार असम्भव छैन भन्ने दृष्टान्तका लागि आफ्नो दोस्रो प्रधानमन्त्रीकाल नै पर्याप्त रहेको धारणा राख्नुभयो ।

उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग–व्यवसायलाई सङ्कटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सुचारु गर्ने निर्णय गरिसकिएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘यसले अर्थतन्त्र सुधारका क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ । तर पछिल्लो समयमा आर्थिक प्रणालीमा व्यावसायिक चक्रभन्दा सम्पत्तिको मूल्य वृद्धि चक्र हाबी हुनु दुःखद् हो । कृषि, म्यानुफेक्चरिङ, उद्योग एवम् वास्तविक सेवा क्षेत्रको वृद्धिदरलाई उच्च बनाएमा मात्र त्यसको आधारमा वित्तीय क्षेत्र बलियो र स्थिर रहन्छ ।’’


उहाँले उच्च मुद्रास्फीति र अस्थिर ब्याजदरले राज्य एवम् सामान्य नागरिकको बजेट प्रणाली, ज्याला, उद्योगको विकास र आम जनसमुदायको जीवनस्तरमा नकारात्मक प्रभाव पार्ने भएकाले यसमा सरकारले उपयुक्त कदम चाल्ने विश्वास दिलाउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको सम्बोधनको पूर्णपाठ

लुम्बिनी प्रदेशमा बनेको यो पहिलो केबलकारको उद्घाटन गर्न पाउँदा मलाई खुसी लागेको छ । गत महिनामात्र नवलपुरको मौलाकाली केबलकारको उद्घाटनपछि आज यो अवसर पाउँदा अर्को खुसी थपिएको महसुस गरेको छु ।

देशको अर्थतन्त्र अप्ठ्यारोमा रहेका बेला निजी क्षेत्रका तर्फबाट चन्द्र ढकालजीको नेतृत्वमा आइएमई ग्रुपको अगुवाइमा यी विशाल पर्यटकीय पूर्वाधारहरू निर्माण भएबाट मुलुकमा आर्थिक क्रियाकलाप थप चलायमान भएको सकारात्मक सन्देश गएको महसुस मैले गरेको छु । मुलुकको अर्थतन्त्रले हिजोआज अप्ठेरा दिनहरूको सामना गरिरहेका बेला यहाँहरूले निर्माण गरेका यस्ता आयोजनाले यहाँहरू जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि सफलतापूर्वक काम गर्न सक्नुहुन्छ भन्ने सन्देश देशव्यापी रूपमा नै राम्रैसँग प्रवाह भएको छ ।

रुपन्देही र पाल्पा जिल्लालाई जोड्ने गरी निर्माण भएको यस पर्यटकीय पूर्वाधारले यहाँको आर्थिक तथा सामाजिक रूपान्तरणमा टेवा पुग्न सकोस् भनी शुभकामना दिन चाहन्छु ।

गौतमबद्धको जन्मस्थल लुम्बिनीजस्तो महत्त्वपूर्ण स्थानमा केवलकार तथा पाँचतारे होटलसहित अन्य पर्यटकीय संरचनाहरू निर्माण गर्दा यहाँको स्थानीय मात्र नभएर राष्ट्रिय अर्थतन्त्रमा नै ठुलो योगदान पुग्ने अपेक्षा मैले गरेको छु । नेपालमा आउने विदेशी पर्यटकका लागि यस्ता पर्यटकीय संरचनाले सहयोग पुग्ने र यसबाट उनीहरूको नेपाल बसाइ पनि लम्ब्याउन सकिने भएकाले लुम्बिनी केबलकार निर्माणमा सहभागी आइएमई ग्रुप तथा यसमा संलग्न सबै लगानीकर्ता तथा स्थानीय नागरिकलाई पनि विशेष धन्यवाद दिन चाहन्छु ।

लुम्बिनीको पर्यावरणीय महत्त्वलाई कायमै राखेर यहाँका स्थानीय नागरिकहरूको पनि साझेदारीमा काम गर्न र उनीहरूको जीवनस्तर उकास्ने खालका कार्यक्रमहरूमार्फत स्थानीय तथा समग्र देशले नै समृद्धि हासिल गर्ने काममा यहाँहरू लाग्नु नै हुनेछ भन्ने मेरो विश्वास छ ।

वर्तमान सरकारले देश विकास र समृद्धिका लागि निजी क्षेत्रसँग साथ साथ अघि बढ्ने नीति लिएको त यहाँ उपस्थित लगानीकर्ता एवम् मुलुकको निजी क्षेत्रका प्रतिनिधिहरूलाई अवगत नै होला । म आफै पनि देशको विकासमा निजी क्षेत्रको ठुलो योगदान रहेकाले उनीहरूलाई विश्वासमा लिएर देशमा लगानीका सम्भावनाहरूलाई हर समय खुला राख्ने पक्षमा रहेको कुरा यस्तै मञ्चहरूमा भन्दै आएकै छु ।

कोरोना महामारीको मारबाट भर्खरै उम्किएको अवस्थामा देशको अर्थतन्त्रलाई चलायमान बनाउन मलाई लाग्छ एकपटक आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था आएको छ । महामारीको मारमा परेका व्यवसायीहरूलाई राहात दिनेगरी तथा शिथिल बन्न पुगेको मुलुकको अर्थतन्त्रलाई थप चलायमान बनाउने गरी निजी क्षेत्रका साथीहरूकै सुझावलाई सरकारले हालै सार्वजनिक गरेको आगामी वर्षको बजेटमा पनि समेटेको छ ।

सरकारले यसअघि पनि आर्थिक प्याकेजका कार्यक्रमहरू ल्याएर देशको निजी क्षेत्रलाई कुनै न कुनै रूपमा राहातको घोषणा गरेको थियो । यी दृष्टान्तहरूले वर्तमान सरकार निजी क्षेत्रको साथमा छ र उनीहरूसँगको सहकार्यबाट अघि बढ्न चाहन्छ भन्ने स्पष्ट हुन्छ ।   

पर्यटन क्षेत्रको बहुआयमिक विकासका निम्ति भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन, होटललगायत पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रबन्ध एवम् पर्यटकको बसाइ लम्बाउन आवश्यक पर्ने नीति अवलम्बन गरिनेछ । मुलुकभित्रै रोजगारीको अवस्था सिर्जना गर्न आन्तरिक उत्पादन र नवप्रवर्तनको क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्दछ भन्ने मेरो धारणा हो ।

अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग–व्यवसायलाई सङ्कटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सुचारु गर्ने निर्णय गरिसकिएको छ । यसले अर्थतन्त्र सुधारका क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ । तर पछिल्लो समयमा आर्थिक प्रणालीमा व्यावसायिक चक्रभन्दा सम्पत्तिको मूल्य वृद्धि चक्र हाबी हुनु दुःखद हो । कृषि, म्यानुफेक्चरिङ, उद्योग एवम् वास्तविक सेवा क्षेत्रको वृद्धिदरलाई उच्च बनाएमा मात्र त्यसको आधारमा वित्तीय क्षेत्र बलियो र स्थिर रहन्छ । उच्च मुद्रास्फीति र अस्थिर ब्याजदरले राज्य एवम् सामान्य नागरिकको बजेट प्रणाली, ज्याला, उद्योगको विकास र आम जनसमुदायको जीवनस्तरमा नकारात्मक प्रभाव पार्ने भएकाले यसमा सरकारले उपर्युक्त कदम चाल्ने विश्वास दिलाउन चाहन्छु ।

हामीले अहिलेसम्म चल्दै आएको हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक छ । हालसम्मका योजनाबद्ध विकासका प्रयासबाट भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, समावेशीता जस्ता क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भए तापनि उत्पादन र रोजगारीको क्षेत्रमा हाम्रो प्रगति उत्साहजनक छैन । सरकार इमानदारीपूर्वक विकास र समृद्धिको यात्रामा अग्रसर हुँदा, विकास र समृद्धिको मुद्दामा राजनीतिक दलहरूमा सहमति, सहकार्य र एकता कायम हुँदा र निजी क्षेत्रको साझेदारी र सहयोग रहँदा गुणात्मक सुधार असम्भव छैन भन्ने दृष्टान्तका लागि मेरो दोस्रो प्रधानमन्त्रीकाल नै पर्याप्त छ ।

झण्डै ऋणात्मक दिशामा रहेको अर्थतन्त्रमा गुणात्मक सुधार ल्याई ७.५ प्रतिशतको आर्थिक वृद्धि, उज्यालो नेपालको स्थापना, राष्ट्रिय गौरवका आयोजना लगायत पूर्वाधार क्षेत्रमा गुणात्मक विकास, असहमतिको राजनीतिबाट सहमति, सहकार्य र एकताको आधार निर्माणजस्ता जे–जस्ता उपलब्धि त्यस कार्यकालमा हासिल भए, त्यसले प्रष्ट गर्छ– साझा सङ्कल्पका साथ सबैको सकारात्मक र रचनात्मक सहकार्य र सहयोग हुँदा फेरि पनि विकास र समृद्धिमा गुणात्मक सुधार ल्याउन सकिन्छ । यसपटक म प्रधानमन्त्री बन्दै गर्दा देशको अर्थतन्त्र झण्डै झण्डै दुर्घटनाकै अवस्थामा थियो भन्दा हुन्छ । तर करिब ६ महिनामा दुर्घटनाग्रस्त अर्थतन्त्रले लय समात्नु र समष्टिगत आर्थिक परिसूचकहरूमा राम्रो सुधार आउनुमा सरकारको यही सङ्कल्प र इमानदार प्रयास जिम्मेवार छ ।

वर्तमान सरकारले स्वदेशी तथा वैदेशिक लगानीका लागि सदैव आह्वान गर्ने गरेको छ । हालसालै भारतको औपचारिक भ्रमणका क्रममा पनि हामीले नेपालमा लगानीका लागि भारतीय उद्योगी व्यवसायीहरूलाई आह्वान गरेका थियौँ । नेपालमा लगानीका सम्भावना नै सम्भावना रहेकाले यहाँ आई लगानी गरेर प्रतिफल लिन नेपालका उद्योगी व्यवसायीलाई मैले आग्रह गरेको थिएँ ।

सो भ्रमणका क्रममा भारतका प्रधानमन्त्रीजीले नै नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने घोषणा भएबाट अब नेपालमा हाइड्रोपावरका क्षेत्रमा लगानीको बाटो खुलेको महसुस हामीले गरेका छौँ । यो अवसरबाट लाभ लिन म नेपाली र विदेशी सबै लगानीकर्ताहरूलाई यसै अवसरमा आह्वान पनि गर्दछु ।

वर्तमान सरकार र व्यक्तिगत रूपमा म निजी क्षेत्रसँगको सहकार्य बिना देशमा समृद्धि सम्भव छैन भन्नेमा प्रष्ट छु । त्यसैले मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको निजी क्षेत्रलाई लगानी एवम् व्यवसायका क्षेत्रमा पर्ने जस्तासुकै समस्याहरूको हल गर्न यो सरकार सदैव तत्पर छ ।

धन्यवाद !

यो पनि पढ्नुहोस