• ८ वैशाख २०८१, शनिबार

सञ्जीवनीयुक्त पर्वतमा हनुमानको मूर्ति स्थापना हुने

blog

हनुमानको मूर्ति स्थापना हुने हनुमन्तेडाँडा । तस्विरः बाबुराम

बाबुराम शर्मा 

दोलखा, जेठ २१ गते । दोलखाको तीन गाउँपालिकाको शिरमा रहेको हनुमन्तेडाँडामा हनुमानको अग्लो मूर्ति स्थापना हुने भएको छ । 

गौरीशङ्कर गाउँपालिका, जिरी नगरपालिका र वैतेश्वर गाउँपालिकाको सङ्गम हनुमन्ते डाँडामा हनुमानको मूर्ति राख्ने प्रक्रिया अघि बढेको छ ।

हिन्दु धार्मिक ग्रन्थ रामायणका अनुसार महापुरुष राम र रावणबिचको युद्धमा लक्ष्मण मुर्छा परेका थिए । लक्ष्मणको उपचारका लागि हनुमानले सञ्जीवनी बुटी चिन्न नसकेपछि यही हुनमन्ते पहाडै बोकेर पुगेको रामायणमा उल्लेख रहेको किम्बदन्ती रहेको छ ।

आफ्नै पर्वतलाई प्रचार प्रसार गर्न नसक्दा केही भारतीय पुस्तक, पत्रपत्रिका र वेबसाइटमा उक्त सञ्जीवनी बुटीयुक्त पर्वत उत्तराखण्डको द्रोण गिरी पर्वत रहेको भनी गलत दाबी गरिरहेको पर्यापर्यटनका अध्येता केन्द्र ज्योति खड्काले हनुमानले बोकेको सञ्जीवनीयुक्त पर्वत हनुमन्ते डाँडा नै भएको दाबी गर्नुभयो ।

नेपालको मात्र सन्दर्भ हेर्ने हो भने जिल्लाको हनुमन्तेभन्दा अन्य कुनै पहाड हनुमानको नाम वा प्रसङ्गसँग जोडिएको भेटिँदैन । हनुमन्तेको जुँगूतर्फको पहाडमा प्राकृतिक रूपमै हनुमानको मूर्ति रहेको स्थानीय बताउँछन् ।

मूर्ति राती झलमल्ल बल्थ्यो, तर २० वर्षयता मूर्ति चोरी भएपछि त्यहाँ बत्ती नै बल्न छाडेको स्थानीय बुढापाका बताउँछन् । १० वर्षे द्वन्द्वको बेला प्राकृतिक रूपमा रहेको हीराको मूर्ति चोरी गरी सिमेन्टको सानो मूर्ति बनाएर छाडेको पूर्व सांसद तथा स्थानीय इन्द्रबहादुर खड्काको दाबी रहेको छ ।

तीन स्थानीय तहको चासो 

हनुमानको मूर्ति स्थापना र हनुमन्ते क्षेत्रको एकीकृत अध्ययनका लागि तीनवटा स्थानीय तहले चासो देखाएका छन् । 

धार्मिक तथा पर्यावरणीय पर्यटन प्रवर्द्धनका लागि हनुमन्ते क्षेत्र अत्यन्तै महत्त्वपूर्ण स्थान भएकाले एकीकृत हनुमन्ते विकासका लागि योजनाको काम भइरहेको यस योजनाको अगुवाइ गरिरहेका प्रदेश पूर्व सांसद विशाल खड्काले बताउनु भयो ।

समुद्री सतहबाट तीन हजार ५० मिटरको उचाइमा अवस्थित हनुमन्ते पर्वत भौगोलिक हिसाबले जिल्लाको उत्तर पूर्वी क्षेत्रमा पर्दछ । जिरी नगरपालिका, गौरिशङकर गाउँपालिका र वैतेश्वर गाउँपालिकाको सीमा क्षेत्रमा फैलिएको हनुमन्ते पर्वत शृङला प्राकृतिक रूपमा मात्र नभई धार्मिक दृष्टिकोणले समेत महत्त्वपूर्ण रहेको छ ।

नेपालको समय मापन केन्द्र प्रसिद्ध गौरिशङकर हिमाललगायत रोल्वालिङ हिमशृङखलाको दर्जन बढी हिमालको प्रत्यक्ष अवलोकन गर्न सकिने यस पर्वतबाट पूर्वमा नुम्बुर हिमाल र पश्चिममा गणेश हिमाल, लाङटाङ हिमाललगायत तिब्बततर्फका समेत हिमालको तथा उच्च पहाडहरूको दृश्यावलोकन गर्न सकिन्छ । 

प्राकृतिक मनोरम दृश्यावलोकनका लागि पनि यो क्षेत्र महत्त्वपूर्ण रहेको छ । यहाँबाट दोलखा, रामेछाप र सोलु तथा ओखलढुङ्गाका अधिकांश भू–भागको दृश्यावलोकन गर्न सकिन्छ ।

हनुमन्तेमा अग्लो मूर्ति स्थापनासँगै ट्रेकिङ, साइकिलिङ रुट निर्माण, लेकाली वनस्पति र जडीबुटी अध्ययन स्थल, चौँरी प्रवर्द्धन केन्द्रजस्ता विकासको योजना यसभित्र रहेका छन् । हनुमन्तेको गुरुयोजना निर्माणको काम भइरहेको पूर्व सांसद खड्काले बताउनु भयो  ।

हनुमन्ते वरिपरि रहेका गुफा तथा पहरामा रहेको अनेकौँ आकृति तथा चिन्हहरू जस्तै हनुमानको हातको पन्जाको छाप, खुट्टाको पन्जाको छाप रहेको स्थानीयको दाबी रहेको छ । हनुमन्तेको विशाल पहराको फेदमा रहेको सानो गुफामा रहेको शिवलिङग आकारको शिला र त्यसमाथिबाट गाईको चार वटा थुनजस्तो आकार भएको चट्टानबाट झरिरहेको सेतो दूध जस्तो तरल पदार्थ झरिरहन्छ ।

समाचारको शीर्षक परिवर्तन गरिएको छ ।–सम्पादक