• १६ चैत २०८०, शुक्रबार

तीन दशकपछि बज्रधार मूर्ति कुलायनमा भित्राइयो

blog

गाईको दूधले नुहाएर श्रीपेच धारण गरेपछि पूजाआजा गरिएको बज्रधरका मूर्ति । तस्विरः बाबुराम शर्मा

बाबुराम शर्मा 

दोलखा, जेठ २० गते । दोलखाको भीमेश्वर नगरपालिका –२ को प्राचीन नगरी दोलखामा करिब तीन दशकपछि बज्रधर मूर्ति कुलायनमा भित्राइएको छ । 

यहाँको कोर्छे टोलबाट हराएको २८ वर्षपछि भेटिएको उक्त मूर्ति  पूजा तथा वैदिक विधि विधान गरी श्रेष्ठ परिवारको कुलायनमा भित्राइएको इतिहासका जानकार तीर्थनारायण जोशीले जानकारी दिनु भयो । 

उहाँका अनुसार हङकङमा भेटिएको उक्त मूर्ति छाउनी म्युजियमबाट बुझी दोलखा ल्याइएको हो । मूर्तिलाई बाजागाजा सहित बजार परिक्रमा गराएर कोर्छेमी टोलको  कुलायनमा भित्राइएको हो । भित्राउनु अघि मूर्तिलाई गाईको दूधले नुहाएर श्रीपेच पहिराइएको थियो । यो कोर्छेमी ( राज ) श्रेष्ठ खलकको मूर्ति हो । २०५२ साल भदौ १४ गते यो मूर्ति हराएको थियो । 

स्थानीय डा. सुनिल मास्केका अनुसार गत वर्ष यो मूर्ति हङकङस्थित अन्तर्राष्ट्रिय आर्ट डिलर रोप्सी एन्ड रोप्सीसँग रहेको भनी सम्पदा खोजको अभियान लस्ट आर्ट अफ नेपालले सूचना बाहिर ल्याएको हो । यो मूर्ति फर्काउन पहल गर्दै आउनु भएकी प्रा.डा.एमिलिन स्मिथले यसको उत्पत्ति पहिचानमा प्रमाणिकता देखाएपछि सङ्कलक आर्ट डिलर रोप्सी एन्ड रोप्सीले हस्तान्तरण समारोह आयोजना गरी हङकङस्थित नेपाली महावाणिज्य दूतलाई मूर्ति हस्तान्तरण गरिएको थियो ।  

नेपाली महावाणिज्य दूतबाट छाउनीको म्युजियममा ल्याइएको थियो । म्युजियमले श्रेष्ठ परिवारलाई बुझाएपछि मूर्ति दोलखा ल्याइएको हो । 

बज्रधरको ३७”अग्लो यो मूर्ति दोलखाका राजा उजोत देवको पालामा बनाइएको हो । हरेक वर्षको इन्द्र जात्रामा पाँच दिनसम्म पूजाआजा गरी देखाइने गरिन्छ । कुलायनमा राखिएकै अवस्थाबाट मूर्ति चोरिएको थियो । बाकसमा राखिएको श्रीपेच भने यहीँ रहेको थियो ।