सुकृत नेपाल
काठमाडौँ, जेठ २ गते । रङ्गमञ्च र चलचित्र एउटै सिक्काका दुई पाटा हुन् । दुवैको उद्देश्य दर्शकलाई मनोरञ्जन प्रदान गर्नु नै हो । यी दुईमा समानतासँगै केही असमानता पनि छन् । रङ्गमञ्चमा जहाँ ‘लाइभ’ अभिनय गर्नु पर्छ, त्यही चलचित्रमा अभिनय गर्नेले अनेकौँ ‘टेक’को अवसर पाउँछन् ।
एउटै टेकमा काम गर्ने बानी परेका रङ्गमञ्चका कलाकार खारिएर परिपक्व र जीवन्त अभिनय गर्न पोख्त हुन्छन् । धेरैले रङ्गमञ्चलाई अभिनयको पाठशालाका रूपमा पनि व्याख्या गर्छन् । आधुनिक समयको क्रमसँगै जहाँ रङ्गमञ्च साँघुरिँदै गएको छ, त्यही चलचित्रले आफ्नो दायरा फराकिलो मात्र बनाएको छैन, आर्थिक रूपमा पनि यसमा आबद्व चलचित्रकर्मीलाई बलियो बनाएको छ । अपार दर्शकको मायाले चलचित्रका कलाकारको ‘व्रmेज पनि ह्वात्तै बढेको छ, जसका कारण उनीहरूको माग बढिरहेको छ ।
आर्थिक रूपमा चलचित्र क्षेत्रजस्तो बलियो र उल्लेखीय दर्शक नपाए पनि रङ्गमञ्चले आफ्नो पहिचानलाई छोडेको छैन, निरन्तर चलेको चलै छ । रङ्गमञ्चबाट उत्पादन भएर खारिएका केही कलाकारले भने चलचित्र क्षेत्रमा वाहवाही बटुलिरहेका छन् । नेपाली रङ्गमञ्चका उत्पादन भोला सापकोटाले त भारतीय चलचित्र ‘बर्फी’मा आफ्नो अभिनयको जादु चलाइसक्नुभएको छ । उहाँ मात्र होइन दयाहाङ राई, विपिन कार्की, रोय, कमलमणि नेपाल, लक्ष्मी बर्देवा, दिया मास्केलगायतका कलाकार उदाहरण मात्र हुन् ।
यसअघि नेपालको पहिलो चलचित्र ‘आमा’ की नायिका भुवन चन्द, हरिहर शर्मा, नीर शाह, शकुन्तला शर्मा, मदनदास श्रेष्ठ, वसुन्धरा भुसाल, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सरोज खनाल, सूर्यमाला खनाल, टीका पहारीले एक किसिमको गहिरो छाप पारिसक्नुभएको छ ।
रङ्गकर्मी भोला सापकोटा रङ्गमञ्चमा भन्दा चलचित्रमा राम्रो आम्दानी हुने कुरा स्वीकार्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “आर्थिक हिसाबले रङ्गमञ्च चलचित्रभन्दा पछाडि नै छ । तर अहिले रङ्गमञ्च केही माथि भने उठेको छ । रङ्गमञ्चमा पनि कलाकारले आफ्नो मेहनत अनुसारको फल पाउन थालेका छन् ।” चलचित्र ‘अनागरिक’ बाट चलचित्र क्षेत्रमा आउनुभएका अभिनेता दयाहाङ राईले निश्चल बस्नेत निर्देशित चलचित्र ‘लुट’ मा गर्नुभएको गोफ्लेको भूमिकाले उहाँलाई उचाइमा पु-यायो । उहाँकोे भूमिकालाई दर्शकले रुचाए । लुटपछि अधिकांश निर्माता-निर्देशकको रोजाइमा रङ्गकर्मी दयाहाङ राई नै पर्न थाल्नुभयो ।
रङ्गमञ्चबाट चलचित्रमा जम्नुभएकी लक्ष्मी बर्देवाले ‘घामपानी’ ‘मिस्टर झोले’, ‘जालो’, ‘कागजपत्र’, ‘डमरुको डन्डिबियो’, ‘बुलबुल’, ‘सेल्फी किङ’ ‘बुलबुल’ लगायतका चलचित्रमा अभिनय गरिसक्नुभएको छ । उहाँ भन्नुहुन्छ, “रङ्गमञ्च र चलचित्रमा धेरै फरक छ । यसमा समयको भिन्नता धेरै छ । चलचित्रमा धेरै समय दिनुपर्छ तर नाटकमा पर्दैन ।” आर्थिक हिसाबले हेर्ने नाटकमा भन्दा चलचित्रमा नै राम्रो आम्दानी हुने उहाँको भनाइ छ । पछिल्लो समय धेरै रुचाइएका अर्का अभिनेता विपिनलाई यतिबेला भ्याइनभ्याइ छ । चलचित्रमा फरक फरक भूमिका गरेर आफ्नो क्षमता प्रमाणित गरिसक्नुभएका उहाँले चलचित्र ‘पशुपति प्रसाद’ मा गरेको ‘भस्मे डन’ को चरित्रलाई धेरैले मन पराए ।
रङ्गमञ्चबाट चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएका खगेन्द्र लामिछानेले चलचित्र ‘वधशाला’ मात्र होइन ‘टलकजङ्ग भर्सेज टुल्के’ र ‘पशुपति प्रसाद’ मा जीवन्त अभिनय गरेर प्रशंसा बटुल्नुभएको छ । यी तीन वटै चलचित्र व्यावसायिक रूपमा सफल मानिन्छन् ।