• १२ साउन २०८१, शनिबार

रोकियो चिकित्सकको निर्वाह भत्ता

blog

काठमाडौँ, वैशाख २६ गते । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा पदाधिकारी नियुक्त हुन नसक्दा रेजिडेन्ट चिकित्सकहरूले तीन महिनादेखि निर्वाह भत्ता पाउन सकेका छैनन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा गत फागुनदेखि नै उपकुलपतिलगायतका पदाधिकारीको पद रिक्त भएको छ । 

न्याम्सका उपकुलपति डा. डिएन शाह, रेक्टर प्रा.डा. सुबोध अधिकारी, रजिस्ट्रार प्रमीला देवान र डिन डा. पीयूष दाहालको कार्यकाल फागुन महिनादेखि सकिएपछि ती पदमा हालसम्म नियुक्त हुन सकेको छैन । पदाधिकारी नियुक्त हुन नसक्दा वीरमा कार्यरत रेजिडेन्ट चिकित्सकहरूले निर्वाह भत्ता नपाएका हुन् । यसले गर्दा चिकित्सकहरूले जीवन निर्वाह गर्न समस्या पर्दै गएको गुनासो गरेका छन् ।

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले न्याम्समा पदाधिकारी नियुक्त नहुँदा रेजिडेन्ट चिकित्सकको निर्वाह भत्ता रोकिएको बताउनुभयो । उहाँले वीरमा पदाधिकारी नहुँदा तालिम तथा महत्त्वपूर्ण शैक्षिक कार्यक्रम सञ्चालनमा असर परेको बताउनुभयो ।