• १३ असोज २०८१, आइतबार

लगानी गर्न मुख्यमन्त्रीको सुझाव

blog

विराटनगर समाचारदाता

विराटनगर, वैशाख २६ गते । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट प्रदेशको उत्पादन र राजस्व बढाउने ढङ्गले निर्माण गर्नुपर्ने बताउनुभएको छ । प्रदेश सरकारले राजस्व आम्दानी बढाउने क्षेत्रको पहिचान गरी त्यसमा लगानी गर्ने ढङ्गले कार्यक्रम बनाई बजेट विनियोजन गर्न चाहेकाले आगामी नीति कार्यव्रmम बनाउँदा त्यसमा ध्यान दिन मुख्यमन्त्रीले आग्रह गर्नुभएको हो । 

पर्यटन, वन तथा वातावरण मन्त्रालयले बजेट खर्चको त्रैमासिक समीक्षा तथा आगामी वर्षको नीति कार्यव्रmमसम्बन्धी छलफलमा उहाँले राजस्व आम्दानी बढाउन सक्दा मात्र कर्मचारीको तलब तथा सेवा सुविधा बढाउने आधार हुने बताउनुभयो । राजस्व वृद्धिलाई प्राथमिकतामा राख्नुपर्नेमा उहाँको जोड थियो । उहाँले भन्नुभयो, “अहिले कर्मचारीले पाइरहेको तलबले परिवारको भरणपोषण गर्न पुगिरहेको छैन र त्यो बढाउनु पर्छ भन्ने पक्षमा हामी पनि छौँ तर त्यसका लागि राजस्व आम्दानी बढाउन जरुरी छ । अब राजस्व बढाउने गरी तपाईंहरूले काम गर्नु पर्छ ।”

कोशी प्रदेशबाट वार्षिक १०/१२ अर्ब राजस्व सङ्कलन गर्न सक्ने सम्भावना भएको उल्लेख गर्दै राजस्वका क्षेत्रहरू पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्ने उहाँको भनाइ छ । सोही अनुसार कार्यक्रम र कर्मचारी परिचालन हुन नसक्दा न्यूनतम राजस्व लक्ष्य पनि पूरा हुन नसकिरहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री कार्कीले आगामी वर्ष लक्षित राजस्वको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । राजस्व लक्ष्य भेट्टाउन उत्पादनमूलक क्षेत्रमा नीति कार्यव्रmम र बजेट परिचालन गर्नुपर्ने भन्दै सोही अनुसार तयारी गर्न मुख्यमन्त्रीले निर्देशन दिनुभएको हो ।