• १२ मंसिर २०८१, बुधबार

मर्स्याङ्दी जलविद्युतबाट उत्पादन घट्यो

blog

तनहुँ, वैशाख २५ गते । आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्यायाङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन घटेको छ । जलवायु परिवर्तन र गर्मी बढ्दै गएकाले मर्स्यायाङ्दी नदीमा पानीको बहाव कम भइ उत्पादनमा कमी आएको हो ।

तापक्रम बढे पनि हिमालमा प्रशस्त हिउँ नहुँदा नदीमा पानीको बहाव कम भएर विद्युत उत्पादनमा कमी आएको केन्द्रका प्रमुख बद्री फुँयालले बताउनुभयो । विगत वर्षको तुलनामा यसवर्ष लामो समयदेखि खडेरी परेकाले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घट्दै गएको र कतिपय मुहानसमेत सुक्दै गएकाले विद्युत उत्पादन कमी भएको उहाँले जानकारी दिनुभयो ।

पानी कम हुँदा अहिले दिउँसोको समयमा ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुँदै आएको छ । नदीमा पानीको बहाव वृद्धि भएको समयमा तीनवटा युनिटबाट २३/२३ मेगावाटका दरले पूर्ण क्षमताको (६९ मेगावाट) विद्युत उत्पादन हुने गर्दछ । 

‘‘नदीमा पानीको मात्रा आधा कम भएकाले उत्पादन पनि सोही अनुसार घट्दै गएको छ”, प्रमुख फुँयालले भन्नुभयो, “साँझ र बिहान बिजुलीको माग धेरै हुने भएकाले नदीको पानी दिउँसो रिजर्भ ट्याङ्कमा जम्मा गरेर लैजाने र साँझ र बिहान भने पूर्ण उत्पादन बढाउने गरिएको छ ।”

यति बेला सुख्खा याम भएकोले उत्पादनमा कमी आएको तर हिमालमा प्रशस्त हिउँ परेको भए प्रतिदिन झण्डै १० युनिट बढी विद्युत् उत्पादन गर्न सकिने उहाँले जानकारी दिनुभयो । यस केन्द्रबाट उत्पादित विद्युत चितवनको भरतपुरबाट काठमाडौको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडी वितरण हुँदै आएको छ । रासस