• १३ साउन २०८१, आइतबार

रवि लामिछाने र प्रजिअविरुद्ध उजुरी दर्ता

blog

शालिग्राम नेपाल 

चितवन, वैशाख १० गते । नेपाली काँग्रेस चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएको छ । 

निर्वाचन भइराखेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछानेले फेसबुक लाइभमार्फत मत मागेको, मतदान स्थलमा हूलहुज्जत गरी प्रचार गरेको र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले वेवास्ता गरेको भन्दै उजुरी हालेको हो । 

नेपाली काँग्रेसका निर्वाचन प्रतिनिधि ध्रुवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिनुभएको हो । उहाँले उजुरीपत्रमा निर्वाचन ऐन, निर्देशिका, कार्यविधि र निर्देशन बमोजिम कारबाही गरी पाऊँ भनी प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जीतनारायण बेडको तर्फबाट उजुरी पेश गर्नुभएको छ । 

निर्वाचनमा प्रशासनबाट आवश्यक सहयोग भएन र रास्वपाले आचारसंहिता उल्लङ्घन भएको भनी उजुरी परेकाले त्यस पत्रमाथि आवश्यक अध्ययन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी ईश्वर आचार्यले जानकारी दिनुभयो ।