• १२ असार २०८१, बुधबार

हाफ म्याराथनमा नेपाल आर्मीका पाल प्रथम

blog

अविनाश चौधरी

धनगढी, वैशाख १ गते । धनगढीमा आयोजना भएको ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगितामा नेपाल आर्मीका मुकेश पाल प्रथम हुनुभएको छ । नयाँ वर्षको उपलक्ष्यमा धनगढी जेसिजले आज आयोजना गरेको हाफ म्याराथनको खुल्लातर्फको उपाधी पालले जित्नुभएको हो । 

निर्धारित २१.१ किलोमिटरको दूरी उहाँले एक घण्टा चार मिनेट ४८ सेकेण्डमा पूरा गरेर उपाधी चुम्नुभयो । विजेता पालले ५५ हजार ५५५ रुपियाँ पुरस्कार प्राप्त गर्नुभएको छ । 

यसैगरी, दोस्रो स्थान नेपाल आर्मीकै धावक नरेन्द्रसिंह रावलले प्राप्त गर्नुभयो । उहाँले ३३ हजार ३३३ रुपियाँ पुरस्कार प्राप्त गर्नुभएको छ । धावक सन्तोषविक्रम विष्टले तेस्रो स्थानमा चित्त बुझाउनुभयो । उहाँले २२ हजार २२२ रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो ।