• १३ असोज २०८१, आइतबार

अझै आएन पाठ्यपुस्तक

blog

गाईघाट समाचारदाता

गाईघाट, वैशाख १ गते । नयाँ शैक्षिक सत्र २०८० सुरु भयो तर सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाले पाठ्यपुस्तक पाउन सकेका छैनन्। जनक शिक्षा सामग्री केन्द्रले समयमै किताब छापेर बजारमा ल्याउन नसकेपछि उदयपुरका विद्यालयमा अध्ययनरत करिब २८ हजार बालबालिका समयमै पाठ्यपुस्तक पाउनबाट वञ्चित भएका हुन्।

अघिल्ला शैक्षिक वर्षहरू कोरोना भाइरसको सङ्क्रमणका कारण लामो समयसम्म विद्यालय सञ्चालन हुन नसकी घरमै बसेर अध्ययन गरेका बालबालिका यस वर्ष भने कोरोना कहरबाट मुक्त भए पनि पाठ्यपुस्तकको अभावमा पठनपाठन प्रभावित हुनसक्ने सम्बन्धित विषय शिक्षकले बताएका छन्।

आधारभूत तहको कक्षा ६, ७, र ८ तथा माध्यमिक तहको कक्षा ९ र १० को पाठ्यपुस्तक अहिलेसम्म स्थानीय पुस्तक तथा स्टेसनरी पसलमा नआएको चौदण्डीगढी नगरपालिका–७ स्थित ज्योति माध्यमिक विद्यालय बेलटारका प्रधानाध्यापक राजकुमार ओझाले बताउनुभयो। 

उदयपुर जिल्लामा यो वर्ष कक्षा १ देखि ५ सम्म २९ हजार ८२३, कक्षा ६ देखि ८ सम्म ११ हजार ५७२ बालबालिका सामुदायिक विद्यालयमा अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वय एकाइ उदयपुरका शाखा अधिकृत भवानी कट्टेलले बताउनुभयो। सदरमुकाम आसपासका विभिन्न ३२ वटा सामुदायिक विद्यालयलाई केही वर्षदेखि नै पाठ्पुस्तक बिक्री गर्दै आएको गाईघाटस्थित साझा पुस्तक पसलका व्यवस्थापक चतुरनारायण चौधरीका अनुसार कक्षा ६, ७, ८, ९ र १० का पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रले नै नदिएकोले आपूmहरूले बिक्री गर्न नपाएको बताउनुभयो। 

कोशी प्रदेशका ओखलढुङ्गा, खोटाङ र उदयपुर तथा मधेश प्रदेशका आठवटा गरी ११ वटा जिल्लालाई पाठ्यपुस्तक वितरण गर्दै आएको जनकपुरधामस्थित जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालयले भने वैशाख महिनाको १० गते भित्र सबै जिल्लालाई पाठ्यपुस्तक उपलब्ध गराइसक्ने जानकारी दिएको छ।

सो केन्द्रका प्रादेशिक प्रमुख रुद्र खनालले गोरखापत्रसँग भन्नुभयो, “अहिलेसम्म धनुषा, महोत्तरी, ओखलढुङ्गा, खोटाङ र सप्तरी जिल्लामा सबै किताब पु¥याइएको र बाँकी जिल्लाका लागि पनि धमाधम प्याकिङ भइरहेको छ। अघिल्लो वर्ष करिब १७ करोड मूल्यको १६ लाख थान किताब बिक्री गरेको सो केन्द्रले यस वर्ष पनि त्यति नै मूल्यमा १५ लाख थान किताब बिक्री गर्ने तयारी गरेको उहाँले बताउनुभयो।

यो वर्ष कक्षा ५ को पनि निजी क्षेत्रले किताब छापेको र कक्षा ६ र ७ को नौवटा विषयलाई यो वर्षबाट घटाएर छवटा विषय मात्र कायम गरिएकोले किताब छाप्नमा केही ढिलाइ भए पनि अबको १० दिनभित्र सबै जिल्लामा सहज रूपले पाठ्यपुस्तक उपलब्ध हुनेमा कुनै सन्देह नरहेको प्रादेशिक प्रमुख खनालले बताउनुभयो।