• १३ असोज २०८१, आइतबार

हात्तीसँग मित्रवत् व्यवहार गर्न आग्रह

blog

दमक समाचारदाता

दमक, वैशाख १ गते । भारतका पर्यटन अभियन्ता तथा हिमालयन टुरिजम प्रवद्र्धनमा लाग्नुभएका सुप्रितम राजवशुले सीमा क्षेत्रमा हात्तीको आवागमनलाई समस्याका रूपमा नलिई यसबाट लाभ लिन सकिने बताउनुभएको छ। उहाँले मानव चेतना जागृत गरेर हात्ती र मानवमैत्री समाज निर्माणमा लाग्नुपर्ने बताउनुभयो।

झापा र भारतका हात्ती प्रभावित क्षेत्रका बासिन्दालाई मानव र हात्तीबीचको सह अस्तित्वसम्बन्धी तीन दिवसीय छलफलमा बोल्दै राजवशुले कुनै समय भगवान्का रूपमा पूजा र सम्मान गरिने हात्ती र मानवबीचको द्वन्द्व न्यूनीकरणमा लाग्नुपर्नेमा जोड दिनुभयो।

“यो दुनिया हामी मानवका लागि मात्र हो भन्ने भ्रम त्याग्नुपर्दछ,” उहाँले भन्नुभयो, “हात्ती वा यहाँ भएका सबै प्राणीले बाँच्न पाउनुपर्छ।” सीमा क्षेत्रमा आउने हात्तीहरू यहाँको पर्यटन विकासमा सहयोगी बन्न सक्ने भन्दै हात्तीसँग मित्रवत् व्यवहार गर्न उहाँले आग्रह गर्नुभयो।

कार्यक्रममा उज्यालो नेपालका अध्यक्ष एवं बर्दिया राष्ट्रिय निकुन्जका पूर्ववार्डेन रमेश थापाले हात्तीलगायतका जङ्गली जनवारसँग मित्रवत् व्यवहार गर्न सकिने बताउँदै सहअस्तित्व स्वीकार गर्न आग्रह गर्नुभयो। उहाँले यस क्षेत्रमा सदियौँदेखि देखिएको हात्ती र मावनबीचको द्वन्द्व समाधानका लागि छलफल हुनु सुखद भएको बताउनुभयो। मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले पछिल्लो समय नेपाल र भारतको सीमा क्षेत्रमा दुवै देशका नागरिकबीच मानव हात्तीमैत्री व्यवहारका लागि विभिन्न कदम चालिएको बताउनुभयो। क्षति न्यूनीकरणका लागि सीमा क्षेत्रमा समूहगत रूपमा काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो।