• १३ साउन २०८१, आइतबार

सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिको वार्ता भङ्ग

blog

मिटरब्याज पीडित । फाइल तस्बिर

काठमाडौं, चैत ३० गते । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भङ्ग गरेको छ ।

बिहीबार गृह मन्त्रालयमा भएको अन्तिम एवम् निर्णायक वार्तापछि सरकारी वार्ता टोलीले आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै सरकारले बनाएको वार्ता टोलीसँगको वार्ता भङ्ग गरेको हो । सहमति नजुटेपछि अब मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने भएको छ । पाँच दिनसम्म भएको वार्तामा सरकारी वार्ता टोलीले पुरानै कुराहरू दोहोर्‍याएको भन्दै त्यसलाई स्वीकार गर्न नसकेर वार्ता भङ्ग गर्नुपरेको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिका प्रवक्ता निर्ग नवीनले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिले नेपाल सरकारलाई ६ बुँदे माग राखेको थियो । राज्यले बनाएको औपचारिक वार्ता टोलीसँग हामीले पाँच दिन वार्ता बस्यौँ । उहाँहरू ६ बुँदे मागप्रति सकारात्मक हुनु भएन । आजदेखि सरकारले बनाएको वार्ता टोलीसँग वार्ता नगर्ने भनेर हामीले वार्ता भङ्ग गरेका छौँ । उहाँहरूले हामी संवेदनशील भएका छौँ भन्नुभएको छ । हामीले सङ्घर्ष समितिले राखेका ६ बुँदे मागमा छलफल गर्नु भनेका छौँ, उहाँहरूले त्यही कुरा राखिराख्नुभयो ।’’

प्रवक्ता नवीनले सङ्घर्ष समितिले राखेका ६ बुँदे मागमा सरकारी पक्षले कुनै वास्ता नगरेको आरोप लगाउनु भयो ।