• १३ असोज २०८१, आइतबार

‘सिलाम–साक्मा’ बनाउन भ्याइनभ्याइ

blog

नवराज कट्टेल

विराटनगर, चैत २९ गते ।  विराटनगर–११ निवासी शर्मिला देवान धार्मिक आस्था जनाउन घरका लागि ‘सिलाम–साक्मा’ बनाउँदै आउनुभएको थियो। लिम्बू समुदायको बाहुल्यता भएको क्षेत्रमा प्रचलित पवित्र प्रतीक ‘सिलाम–साक्मा’ मिश्रित समुदाय भएको विराटनगरमा खासै प्रचलनमा थिएन। 

धार्मिक आस्थाले जोडेको ‘सिलाम–साक्मा’ सांस्कृतिक र सामाजिक कार्यका बेला लगाउनेमा मात्रै सीमित थियो। तर अहिले विराटनगरमा यसको माग बढ्दै गएपछि देवानका लागि ‘सिलाम–साक्मा’ बनाउने कार्य व्यवसायमा रूपान्तरण भएको छ। 

खासगरी लिम्बूहरूकै कार्यक्रममा ‘सिलाम–साक्मा’ले स्वागत गर्ने चलन थियो। अन्य समुदायका अतिथिलाई मायाको चिनोका रूपमा प्रदान गरिन्थ्यो। तर समुदायगत रूपमा सार्वजनिक कार्यक्रम बढ्दै जाँदा विराटनगरमा ‘सिलाम–साक्मा’ बनाउँदा बिक्री हुन थालेको हो। परम्परागत रूपमा लिम्बू समुदायले आफ्नो घरको धुरी र मुल ढोकामा राख्ने चलन छ। सार्वजनिक कार्यक्रममा समेत यसलाई स्वागतका लागि ब्याचका रूपमा प्रयोगमा ल्याउने क्रम बढेपछि विराटनगरमा ह्यान्डी क्र्याफ्टका रूपमा यसको व्यवसाय सुरु गरिएको हो।

देवानका अनुसार विराटनगरमा बसोबास गर्ने लिम्बू समुदायको विवाह कार्यक्रममा महिला र पुरुष दुवै जनाको छातीमा ‘सिलाम–साक्मा’ लगाइदिने चलन बढेको छ। विवाहलगायतका समुदायगत परम्पराका कार्र्य र सार्वजनिक कार्यक्रममा समेत यसको प्रयोग बढ्न थालेको हो। देवानको अनुभवमा छ वर्षअघिसम्म विराटनगरमा चुम्लुङ, यायोक्खाको कार्यक्रम हुँदा धरानदेखि ‘सिलाम–साक्मा’ मगाउने चलन थियो तर अहिले विराटनगरमै पाइन्छ भनेपछि बाहिरबाट आउनेहरूले समेत लिएर आउन छोडेका छन्।

समय मिलाएर दैनिक १० वटासम्म सिलाम–साक्मा बनाउँदा बिक्री नहोला भन्ने चिन्ता गर्नुपर्दैन, देवानले भन्नुभयो, “अहिले त यहाँका कार्यक्रम मात्रै नभई बेलायत र हङ्कङसम्म पठाउन थालेको छु।” सानो मेहनत र न्यून मूल्यको कच्चाबाटै यो निर्माण गर्न सकिन्छ। बाँसको दुई कप्टेरोमा नौ रङ–नौ लुङ (डोरो) धागो हातले जोडेर चार कुने ‘सिलाम–साक्मा’ आकर्षक देखिन्छ। यसको छेउमा फुर्का हुन्छ। यो बनाउँदा लिम्बूको धार्मिक र मुन्धुमलाई ख्याल गर्नुपर्ने देवानले बताउनुभयो। “बिक्री हुन्छ भनेर आस्था मर्न दिनुहुन्न,” देवानले भन्नुभयो, “प्रत्येक रङ र डोरोको महत्व हुन्छ।” 

सङ्ख्वासभाबाट आएर विराटनगर–३ मा बस्दै आउनुभएका इसा याक्खाले अर्डर अनुसार ‘सिलाम–साक्मा’ बनाउने र बिक्री गर्ने गरेको सुनाउनुभयो। कसैले बनाई दिनु भनेपछि वा सार्वजनिक कार्यक्रमका लागि आवश्यक परेको खण्डमा बनाउने उहाँले सुनाउनुभयो। यो धागोले मात्रै निर्माण गर्दा प्रतिगोटा एक सय रुपियाँ र मोती माला जडित भए चार सय रुपियाँसम्म पर्ने गर्दछ। 

लिम्बू भाषामा मृत्युको बाटो छेक्ने भन्ने अर्थ ‘सिलाम–साक्मा’ले लगाउँछ। लिम्बू भाषा साहित्य प्रतिष्ठानका अध्यक्ष याङ लावतीका अनुसार ‘सि’ भनेको मृत्यु, ‘लाम’ भनेको  बाटो र ‘साक्मा’  भनेको  रोक्नु भन्ने अर्थ लाग्ने गर्छ। तङसिङ तक्मा अनुष्ठानसँग सिलाम–साक्माको सम्बन्ध रहेकोले यसलाई लिम्बू समुदायले जीउज्यान सुरक्षा कवचका रूपमा लगाउने गरेका छन्। 

लिम्बूहरूको ठूलो अनुष्ठानलाई तङसिङ तक्मा भनिन्छ। यो भनेको अकालमा मृत्युवरण गरेकाहरूका लागि गरिने अनुष्ठान हो। यो परम्परामा ‘सिलाम–साक्मा’को महत्व अझै धेरै रहेको लावतीको भनाइ छ। १३ दिनसम्म यसको विधि सकिएपछि अन्तिम दिन परिवारका सबै सदस्यको घरमा ‘सिलाम–साक्मा’ बाँड्ने चलन छ। जसलाई घरको दैलोमा झुन्ड्याउने गरिन्छ। लावतीले बाँसको कप्टोरमा बाँधिने नौ डोरोले नवग्रहलाई जनाउने भएकोले यसको धार्मिक विधि छल्न मिल्दैन। नवग्रहको अनुष्ठान गर्दा जीवनको सुरक्षा हुन्छ भन्ने मान्यता भएकोले यसलाई कवचका रूपमा लगाउने प्रचलन रहँदै आएको हो। 

पवित्र चिह्नको व्यवसायीकरण हुनु सकारात्मक भए पनि यसको पवित्र विधि भुल्न नहुनेमा सम्बन्धित क्षेत्रका अगुवाको बुझाइ छ। पवित्र स्थानमा राखिने, मुटु साँचेको छातीमा टाँसेर राखिने यसको महìव धेरै रहेको मानिन्छ। महिला वा पुरुषले छातीभन्दा मुनि ‘सिलाम–साक्मा’ लगाए त्यसले आस्थामाथि अपमान गरेको ठहर्ने स्थानीय बासिन्दाको भनाइ छ।