• १३ असोज २०८१, आइतबार

सामुदायिक वनमा दाउरा अभाव

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, चैत २९ गते  । मोरङको कानेपोखरी–७ स्थित ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूहसँग दाउरा अभाव हुँदा अन्तिम संस्कारका क्रममा शव जलाउनसमेत समस्या परेको छ। 

सामुदायिक वनको आन्तरिक विवाद समाधान हुन नसक्दा सामुदायिक वनले पाँच वर्षयता नयाँ कार्ययोजना पेस गरी ढलापडा सुक्खाखडा काठ दाउरा निकाल्न सकेको छैन। जसले गर्दा मृत्युपछि मानिसको अन्तिम संस्कारका लागि दाउरासमेत अभाव भएको हो। सामान्यतया सामुदायिक वन सञ्चालक समितिले हरेक वर्ष साधारण सभाको निर्णयसहित दाउरा र काठको आवश्यकताअनुसार डिभिजन वन कार्यालयसँग कटानको स्वीकृति लिनुपर्छ तर नेपालको तराई क्षेत्रमा रहेका सामुदायिक वनमध्ये सबैभन्दा धेरै क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनको नेतृत्वबीच विवाद हुँदा नयाँ कार्ययोजना पेस गर्न सकिएको छैन।

पाँच वर्षको भण्डारण सकिएपछि मृत्युपछि शव जलाउने दाउरासमेत अभाव भएको वनका अध्यक्ष नवीन राईले बताउनुभयो। सामुदायिक वनको भूगोल ठूलो भएकोले आन्तरिक व्यवस्थापन पनि चुनौतीपूर्ण भएको उहाँको भनाइ छ। राईले भन्नुभयो, “हामीले सामुदायिक वनलाई विभाजन गरी तीनवटा बनाउने निर्णयलाई डिभिजन वन कार्यालयबाट स्वीकृत गराएर ल्याइसकेका छौँ।” 

“तीनवटा वनको नामकरण, सीमाङ्कन र उपभोक्ताको सङ्ख्या तय भइसकेको छ। अब तीनवटै वनले नयाँ विधान निर्माण गर्ने, साधारण सभा गर्ने र डिभिजन वन कार्यालयमा कार्ययोजना पेस गर्ने चरणमा पुगेका छौँ,” राईले कार्ययोजना स्वीकृति भएपछि सोहीअनुसार काठ दाउरा निकाल्ने काम सुरु हुने बताउनुभयो। 

सामुदायिक वनले पाँच वर्षसम्म काठ दाउरा निकालेर बिक्री गर्न नपाउँदा वनलाई ब्याजबाहेक ८० लाख रुपियाँ ऋण लागेको छ। अध्यक्ष राईले भन्नुभयो, “आठ जना वन हेरालु र चार जना कर्मचारीलाई गत वर्षको चैतदेखि तलब दिन सकेका छैनौँ। समुदायको काम भएकोले ऋण गरेर वनले सम्पूर्ण खर्चको व्यवस्थापन गरिरहेको छ।” 

डिभिजन वन कार्यालय मोरङका सूचना अधिकृत रामलखन ठाकुरले भन्नुभयो, “जतिसक्दो चाँडो साधारण सभा गरेर विधान र कार्ययोजना लिएर आउँछन् त्यति चाँडो काठ दाउरा उत्पादनको बाटो  खुल्छ।” ग्रामीण सुधार सामुदायिक वन ८०३ हेक्टरमा थियो। त्यसबाट विभाजित भएर बन्ने तीनवटा वन राम्ररी सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो। 

नयाँ योजनाअनुसार ग्रामीण सुधार सामुदायिक वन ३१२ हेक्टर क्षेत्रफलमा रहनेछ। एक हजार ६६ जना ‘क’ वर्गका उपभोक्ता र एक हजार ६६ ‘ख’ वर्गका उपभोक्ता रहने ग्रामीण सुधारले हालको नाम पाउनेछ। यस्तै दही लामीचौर नामको अर्को सामुदायिक वन गठन हुनेछ। कुल २९९ हेक्टरमा ९२५ जना उपभोक्ता रहने यस सामुदायिक वनमा एक हजार ४० ‘ख’ वर्गका उपभोक्ता रहनेछन्। सबैभन्दा पूर्व रहने भुल्के सुन्तोली सामुदायिक वनमा १९९ हेक्टर जङ्गल र एक हजार उपभोक्ता रहनेछन्।