• १३ साउन २०८१, आइतबार

बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसबाट दुई मन्त्री

blog

बागमती प्रदेशको प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिनुहुँदै नवनियुक्त मन्त्रीद्वय । तस्बिर : गोरखापत्र

राममणि दाहाल

हेटौँडा, चैत २६ गते । बागमती प्रदेशको मन्त्रिपरिषद सत्ता गठबन्धनका दलहरुबीचको लामो कसरतपछि आइतबार साँझ विस्तार गरिएको छ ।

केन्द्रमा सत्ता गठबन्धनमा परिवर्तन भएसँगै भएको सत्ता समीकरण परिवर्तनपछि सत्ता गठबन्धनका दलहरुबीच भागबण्डालाई लिएर विवाद हुँदा सरकार विस्तारमा ढिलाइ हुँदै आएको थियो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिशमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतबार साँझ मन्त्रिपरिषद विस्तार गर्नुभएको छ ।

प्रदेश प्रमुख शर्माले मन्त्री नियुक्तिसँगै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा र तीर्थबहादुर लामालाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ ।

बहादुरसिंह लामाले आर्थिक मामिला तथा योजना मन्त्रालय र तीर्थबहादुर लामाले खानेपानी उर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । मन्त्रीमा नियुक्तिसँगै दुवै जनाले साँझ नै मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको छ । विस्तारित मन्त्रिपरिषदमा सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीको सहभागिता रहेको छैन ।

गत पुस २६ गते मुख्यमन्त्री जम्कट्टेलले तीन सदस्यीय मन्त्रिपरिषद बनाउनु भएकोमा गत माघ ११ गते मन्त्रिपरिषद विस्तारले पूर्णता पाएको थियो । यस्तै चैत १० गते नेकपा एमालेका चार मन्त्री र गत फागुन १३ गते राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।