• १३ असोज २०८१, आइतबार

दमक अस्पतालमा ‘पेन प्लस’ कार्यक्रम

blog

विष्णुप्रसाद पोखरेल

दमक, चैत २२ गते । नसर्ने रोगको जोखिम व्यवस्थापन तथा न्यूनीकरणका लागि दमकस्थित सरकारी दमक अस्पतालमा ‘पेन प्लस’ कार्यक्रमको औपचारिक सुरुवात गरिएको छ। मुटु, मधुमेह, श्वासप्रश्वास, रक्तचाप, क्यान्सर, हृदयाघात, सिकलसेल एनिमियाजस्ता नसर्ने रोगको परीक्षण, उपचार र औषधिलगायतको सेवा बिरामीले यस कार्यक्रमअन्तर्गत निःशुल्क पाउनेछन्।

नेपालमा नसर्ने रोगका कारण अकालमा मृत्यु हुने गरेको तथ्याङ्कका आधारमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)को संयोजनमा दमक अस्पतालमा यो सेवा सुरु भएको हो। अस्पतालमा चेकजाँच गरिएका जटिल किसिमका बिरामीलाई अन्य सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि लैजानसमेत सहयोग हुनेछ। यो कार्यक्रमले प्रदान गर्ने सेवाबाट उल्लेखित रोगका बिरामीलाई उपचारमा सहज हुने काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष प्राध्यापक डा. भगवान कोइरालाले बताउनुभयो। “अहिले नसर्ने रोगहरू ठूलो चुनौतीका रूपमा आएको छ,” उहाँले भन्नुभयो, “यो कार्यक्रम बिरामीका लागि प्रभावकारी बन्ने अपेक्षा लिएका छौँ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको सहकार्यमा यो कार्यक्रम लागू भएको पनि उहाँले बताउनुभयो। मुटु, सुगर, प्रेसर, पाठेघरको मुखको क्यान्सर जस्ता नसर्ने रोगहरूको अनुसन्धानात्मक उपचार गर्ने भन्दै यसबाट निसंकोच लाभ लिन पनि आग्रह गर्दै उहाँले भन्नुभयो, “मलाई विश्वास छ यस कार्यक्रमले नसर्ने रोगबाट अहिले भइरहेको मृत्युको सङ्ख्या घटाउन सकिने छ।”

स्वास्थ्य सेवा विभागअन्तर्गत पेन प्लस कार्यक्रमका प्रमुख फडिन्द्रप्रसाद बरालले विलासी जीवनशैलीका कारण नसर्ने रोगको प्रकोप बढिरहेको बताउँदै जीवन शैलीमा परिवर्तनका लागि यसले परामर्श सेवा पनि उपलब्ध गराउने बताउनुभयो। “रोग लागेर उपचार गर्नुभन्दा लाग्नै नदिने किसिमका तरिका अपनाउनका लागि पनि कार्यक्रम प्रभावकारी बन्नेछ भन्ने विश्वास छ,” उहाँले भन्नुभयो।

प्रदेश सभा सदस्य होमबहादुर थापाले यस कार्यक्रमले नागरिकको अकालमा हुने मृत्युबाट जोगाउन सहयोगी हुने भन्दै कार्यक्रमको सफलताको शुभकामना दिनुभयो। उहाँले नसर्ने रोगको पहिचान र उपचारलाई सहज बनाउने यो कार्यक्रमका लागि प्रदेश सरकारको पनि आवश्यक सहयोग रहने जनाउनुभयो।