धीरेन्द्रप्रसाद साह
जनकपुरधाम, चैत २१ गते । जनकपुर–जयनगर नियमित रेल सेवा सञ्चालन भएको सोमबार एक वर्ष पूरा भएको छ। २०७८ चैत १९ गते सो रेल सेवा उद्घाटन गरिएको थियो। जनकपुरधामको कुर्थादेखि जयनगरसम्म ३५ किलोमिटर रेलमार्गमा नियमित रेल सेवा सञ्चालन भइरहेको छ। यात्रु लिएर प्रत्येक दिन दुई पटक आउजाउ गर्ने रेलमा यात्रुको चाप बढेको देख्न सकिन्छ। यसअघि करिब एक दशकभन्दा बढी समयसम्म रेल सेवा बन्द थियो।
नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाका अनुसार गत वर्ष यो रेल सेवा सुरु गराउने तयारी गरिरहँदा यात्रु हुन्छ कि हुँदैन, घाटामा जान्छाैँ की भनेर अनेकाैँ डर हुन्थ्यो। अहिले दैनिक रूपमा रेलमा यात्रुको चाप बढ्दै गएको छ। उहाँले रेल सेवालाई आत्मनिर्भर बनाउन आवश्यक भएको बताउनुभयो।
रेल चलाउन सुरु गरेदेखि हालसम्म भारतीय दक्ष जनशक्ति र भारतमा नै इन्धन भर्नुपर्ने, मर्मत सम्भार गर्नुपर्ने बाध्यता रहेको छ। यस्तो बाध्यता हटाएर रेल सेवालाई आत्मनिर्भर बनाउन तत्काल वासिङ सेन्टर र फ्युल (इन्धन) सेन्टर निर्माण, स्थायी कर्मचारी सङ्गठन संरचना निर्माण, तथा जयनगर कुर्थाखण्डमा कार्गो रेल सेवा चलाउने योजनाअनु्सार कार्य सुरु गरिएको महाप्रबन्धक झाले बताउनुभयो। आफ्नो वासिङ् सेन्टर नहुँदा भारतमा रेलको वासिङ गराउन वार्षिक पाँच करोडभन्दा बढी रकम खर्च गर्दै आएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक झाले जानकारी दिनुभयो।
उहाँका अनुसार वासिङमा मात्र बर्सेनि पाँच करोड खर्च भइररहेको छ। त्यहाँ इन्धन भराउँदा १३ प्रतिशत भ्याट र १५ प्रतिशत टीडीएस गरी २८ प्रतिशत कर तिर्नु परेको छ। इन्धन भराउने र वासिङ गराउने कार्य नेपालमै व्यवस्था भयो भने वार्षिक करिब सात करोड रकम बचत हुनसक्ने महाप्रबन्धक झाले बताउनुभयो।
उहाँका अनुसार नेपाल रेलवे कम्पनीमा २६ जना भारतीय कर्मचारी कार्यरत रहेका छन्। उनीहरूको तलब, रेलको मर्मत कार्य, सामान खरिदमा भारतीय रेलवे कम्पनीलाई वार्षिक ४८ करोड तिर्ने गरी सम्झौता गरिएकोमा सो रकम घटाएर अहिले १६ करोड मात्र खर्च भइरहेको बताइन्छ।
नेपाली रेल चालक नहुँदा भारतीय रेल चालक राख्नुपर्ने बाध्यता रहेको छ। ती कर्मचारीलाई मात्रै मासिक १८ लाख रुपियाँ तिर्नु परिरहेको महप्रबन्धक झाले बताउनुभयो। उहाँका अनुसार रेल चलाउन चालकसहित स्थायी कर्मचारी माग गरिएको छ। कर्मचारी आएमा तालिम दिई दक्ष बनाएर रेल चलाउने योजना कम्पनीले बनाएको छ।
जनकपुरधामको कुर्थादेखि जयनगरसम्म दुई पटक आउजाउ गर्दा दैनिक साढे दुई लाखसम्म आम्दानी भइरहेको नेपाल रेलवे कम्पनीले जनाएको छ। रेलबाट वार्षिक आठ करोड आम्दानी र १६ करोड खर्च भइरहेको जनाइएको छ।
यात्रु मात्र बोकेर रेलवे कम्पनीलाई आर्थिक रूपमा फाइदा नहुने हुँदा जयनगर–कुर्थाखण्डमा यात्रुबाहक रेल सेवासँगै कार्गो रेल सेवा सञ्चालन गर्ने तयारीमा जुटेको नेपाल रेलवे कम्पनीका इन्जिनियर रविन्द्र साहले बताउनुभयो।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका महासचिव मनोज साहले रेल सेवा सुरु भएपछि धार्मिक पर्यटक, सर्वसाधारणको आवागमन बढेको, धेरैको हाते व्यापार चलेको बताउनुभयो। रेल सेवालाई जनकपुरधाम, कुर्था, परवाहा, वैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगर गरी आठ स्थानमा स्टेसन/हल्ट रहेका छन्।
नेपाल रेलवे कम्पनीका इन्जिनियर रवीन्द्र साहका अनुसार जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। चाडै नै भारतीय निर्माण कम्पनीले नेपाल रेलवे कम्पनीलाई ट्रयाक हस्तान्तरण गर्ने इन्जिनियर साहले बताउनुभयो। कुर्थादेखि बिजलपुरासम्म रेल चलाउने प्रयास छ। यता जग्गा मुआब्जाको समस्याले बिजलपुरा भङ्गाहादेखि बर्दिबाससम्म रेलमार्ग निर्माणको काम प्रभावित भएको उहाँले बताउनुभयो।
यो समस्या समाधान भएपछि दुई वर्षभित्र ब्रोडगेज रेलमार्ग निर्माण सकेर बर्दिबाससम्म रेल चल्ने सम्भावना छ। नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा नेपालमा विस्तार गर्नेबारे द्विपक्षीय सम्झौता भएको थियो। सोहीअनुसार २०११ माघ महिनामा निर्माण सुरु भएको थियो। ब्रोडगेज निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडले प्राप्त गरेको थियो।