• २२ वैशाख २०८१, शनिबार

वर्षभरि परिवार धान्न सक्ने आँपको बगैँचा

blog

बोदेबरसाइन समाचारदाता

बोदेबरसाइन (सप्तरी), चैत २० गते । सप्तरी जिल्लालाई आँपको खेती हुने भूगोलका रूपमा चिनिन्छ। लोकमार्गदेखि जिल्लाको उत्तरी भूभागलाई जिल्लाको आँप क्षेत्रका रूपमा लिइन्छ।  

यहाँ किसानको मूल्यवान् आँपका बगैँचा छन्। जसलाई वर्षको एक पटक बेचेपछि वर्षभरिलाई परिवार धान्न सक्ने आम्दानी हुन्छ। कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार एक कृषकले एक मौसममा १५ देखि २० लाख रुपियाँको आँप बेच्ने गरेको रेकर्ड छ। तिरहुत गाउँपालिकाका आँप कृषक अयोधीप्रसाद यादवले वर्षको ५० देखि सय क्विन्टलसम्म आँप भारत निर्यात गर्नुहुन्छ भने त्योभन्दा बढी नेपालकै ठूला सहरमा बेच्नुहुन्छ। 

बुवाबाजेले नै लगाइदिएको आँप बगैँचा हाम्रो आम्दानीको मुख्य स्रोतका रूपमा रहेको आँप कृषक यादवकी बुहारी रेखा यादवले भन्नुभयो। पछिल्लो समय आँप खरिदबिक्री फर्मकै रूपमा विकास गरी आँप उत्पादन बढाउँदै लगेकाले सरकारले अनुदान पनि दिँदै आएको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो।

त्यस्तै सुरुङ्गा नगरपालिका–५, श्रीपुरका अनिल चौधरीको चुरे नजिकै एक बिघा पाँच कट्ठा भीठ (अन्नपात उत्पादन नहुने माटो भएको चहार) जग्गा छ। आफू सामान्य मिस्त्रीको ठेक्कापट्टा गर्दै आएको चौधरीको परिवारमा खेती उब्जाउ नभएपछि र बाहिरी कमाइ नल्याएको खण्डमा भोकमरी लाग्थ्यो। १० वर्षअघि त्यही जग्गामा रोपेको आँपको बोटले सात वर्षयता आम्दानी दिन थालेपछि परिवार सजिलै चलेको उहाँले सुनाउनुभयो। 

उहाँको आँपको एउटा मात्रै बगैँचा यसपालि आठ लाख रुपियाँमा बिक्री भएको छ। त्यति रकमले अरू कुनै व्यवसाय नगरे पनि छ जनाको परिवारलाई वर्षभरि खान लाउन पुग्ने गरेको उहाँ बताउनुहुन्छ। अग्निसाइर कृष्णसवरण–४, सीतापुरको मुसहरु चौधरीको पनि एक मात्र जीविकोपार्जन गर्ने आम्दानीको स्रोत आँपको बगैँचा रहेको छ। सीतापुर बजारनजिक लोकमार्गदेखि ठीक उत्तरपट्टि रहेको घना आँपको बगैँचामा छेउकै जिता नदीबाट बिहान–बेलुकी आँपको रुखमा पानी हाल्दै गरेको भेटिनुहुने मुसहरु चौधरीको अचेलको दैनिकी बनेको छ। त्यसै पनि वर्षभरि घरमा पालेको केही थान गाईवस्तु आफ्नै आँप बगैँचामा लगेर चराउने र आँपको बोटहरू स्याहारसुसार, गोडमेल गरेर बगैँचा बढीभन्दा बढी फलाउने उहाँको उद्देश्य हुन्छ।