• १३ साउन २०८१, आइतबार

विरोधका बीच ‘सोलो ट्रेक’मा रोक

पथप्रदर्शकबिना हिमालय क्षेत्रमा जान नपाइने

blog

काठमाडौँ, चैत १९ गते । हिमाल आरोहणमा जानेबाहेक पथप्रदर्शकबिना हिमालय क्षेत्रमा एक्लै वा समूहमा जान नपाइने नियममा सरकार अडिग देखिएको छ। कतिपयले यसको विरोध गरे पनि सरकार आफ्नो निर्णयमा पछि नहट्ने देखिएको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शनिबार पदयात्री सूचना व्यवस्थापन प्रणाली कार्यविधिको शुभारम्भ गर्दै पदयात्रामा जान अनिवार्य पथप्रदर्शक चाहिने र सम्बन्धित कम्पनीले टिम्स कार्ड लिनुपर्ने बताउनुभयो। 

पदयात्रालाई सुरक्षित बनाउन र पदयात्रामा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न शनिबारदेखि लागू भएको पदयात्री सूचना व्यवस्थापन प्रणाली (ट्रेकर्स इन्फरमेसन म्यानेजमेन्ट सिस्टम–टिम्स कार्ड)मा व्यवस्था भएबमोजिम पथप्रदर्शकबिना उच्च हिमाली क्षेत्रमा जान रोक लगाइएको छ।

उहाँले कार्यविधि लागू भएसँगै यस व्यवस्थाले नेपालको पर्यटन क्षेत्रलाई थप सुरक्षित बनाउन उल्लेख्य भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “देशको आर्थिक विकासमा पर्यटनको क्षेत्रबाट धेरै ठूलो योगदान भइरहेको छ। पदयात्रालाई सुरक्षित बनाउन हामी थप एक पाइला अघि बढेका छौँ। यसले अझै पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउन सहयोग पुग्नेछ।”

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले प्रत्येक सिजनमा विदेशी पर्यटक हराउने, दुर्घटनामा पर्ने, समयमा उद्धार हुन नसक्नेलगायतका घटनालाई हेरेर अनिवार्य पथप्रदर्शक लैजानुपर्ने व्यवस्था लागू गरिएको जानकारी दिनुभयो। उहाँले पदयात्रालाई सुरक्षित बनाउन अनिवार्य गरिएको नयाँ व्यवस्थाले रोजगारी सिर्जना हुने देखिएको छ। 

त्यस्तै ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपालका अध्यक्ष नीलहरि बास्तोलाले नयाँ व्यवस्थालाई पर्यटनसँग सम्बन्धित सबै पक्ष मिलेर कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो। कार्यविघिअनुसार कञ्चनजङ्घा बेसक्याम्प, लुम्बासुम्बा पास ट्रेक, मकालु हिमाल बेस क्याम्प, शेर्पेनी क्लोज पास टे«क, एभरेस्ट बेस क्याम्प, गोकियो ट्रेक, च्छो ल्हा पास ट्रेक, गोकियो रेन्जो ला पास ट्रेक, हुम्ला लिमी भ्याली, उपर डोल्पा, राउन्ड धौलागिरि, उपर मुस्ताङ ट्रेक, अन्नपूर्ण सर्किट ट्रेक, मनासलु हिमाल, गणेश हिमाल, लाङटाङ, गोसाइँकुण्ड, हेलम्बु, पाँचपोखरी, च्छो रोल्पालगायतका स्थलमा अनिवार्य रूपमा पथप्रदर्शक लिएर मात्रै पर्यटक जान पाउनेछन्। पदयात्रासम्बन्धी नयाँ कार्यविधि लागू गरिए पनि खुम्बु पासाङ ल्हामु गाउँपालिकाले भने आफ्नो क्षेत्रभित्र एकल पदयात्रालाई निरन्तरता दिने जनाएको छ। 

गाउँपालिकाका अध्यक्ष मिङ्माछिरी शेर्पाले आफ्नो गाउँपालिकाभित्र एकल पदयात्रामा कुनै रोक नहुने बताउनुभयो। “पछिल्लो निर्णयप्रति पर्यटनमन्त्रीलाई भेटेर लिखित रूपमा असहमति जनाएको हौँ,” उहाँले भन्नुभयो, “पटक–पटक एकल यात्रा गर्दै आएका पर्यटकलाई किन पथप्रदर्शक चाहियो। संसारभर एकल यात्रा गर्न पाइने नियम छ। टिम्स कार्डको शुल्कमा वृद्धि गरी लागू गरिएको यो नियममा विदेशी नागरिकले समेत विरोध जनाइरहेका छन्।”

यस नियम लागू भएसँगै पर्यटकले व्यक्तिगत रूपमा घुम्न जाँदा सार्क मुलुकका पर्यटकले छ सय रुपियाँ तिर्दै आएकोमा अबदेखि एक हजार रुपियाँ तिर्नुपर्नेछ भने सार्क मुलुकबाहेकका पर्यटकले दुई हजार रुपियाँ तिर्नुपर्नेछ।