• १३ असोज २०८१, आइतबार

अवैध आयुर्वेदका उपचार केन्द्र बन्द गर्न माग

blog

झापाका साहयक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाललाई ज्ञापनपत्र बुझाइँदै ।

विष्णुप्रसाद पोखरेल

दमक, चैत १५ गते । झापाको सीमा क्षेत्र तथा दक्षिण विभिन्न पालिकाहरूमा अवैधरुपमा खुलेको आयुर्वेद उपचार केन्द्रहरू बन्द गर्न माग गरिएको छ । भ्रामक प्रचारप्रसार गरेर बिरामीमाथि ठगी गरिरहेको र वैधानिक रूपमा खुलेको आयुर्वेद उपचार केन्द्र धराशायी बनेको भन्दै सो माग गरिएको हो ।

नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज र नेपाल आयुर्वेद औषधि व्यवसायी सङ्घ झापाले जिल्ला प्रशासन कार्यालय झापालाई लिखित रूपमा भारतीयहरू आएर अवैध रूपमा आयुर्वेद उपचार केन्द्र सञ्चालन गरेको, दीर्घकालीन रोगहरू चाँडो निको हुने भन्दै विभिन्न औषधिहरू बेच्दै हिँडेको भन्दै रोक्न माग गरेको छ ।

मानिसलाई स्वस्थ राख्न, स्वस्थ जीवनशैली यापन गर्न, स्वास्थ्य प्रवर्धन गर्न, नसर्ने रोगहरूको व्यवस्थापन तथा दीर्घकालीन रोगहरूको निर्मूलमा संसारकै सबैभन्दा पुरानो र नेपालको मौलिक चिकित्सा प्रणाली आयुर्वेदको योगदान रहेको जनाउँदै यसको फाइदा उठाउँदै अवैध काम भइरहेकाले रोक्न माग गरेका हौँ, नेपाल स्वास्थ्यकर्मी समाज झापाका अध्यक्ष गोपाल सुवेदीले बताउनुभयो ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाललाई ज्ञापनपत्र बुझाउँदै   जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४५ (२) मानसिक तथा शारीरिक स्वास्थ्यलाई असर गर्ने कुनै सामग्री तथा सेवातर्फ आकर्षित गर्नेगरी गलत वा भ्रामक सूचना राखी विज्ञापनको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन भन्ने कानुनी व्यवस्थाको कार्यान्वयन गर्न माग अघि सारिएको छ ।

भारतबाट आएर झापाको विभिन्न ठाउँमा तथा भारतीय सीमासँग पूर्वीय र दक्षिणी भूभागको खुला सीमा रहेकोमा सोको फाइदा उठाएर आयुर्वेदको नाममा खुलेआम भारतीय सीमामा अवैधानिक रूपमा खोलिएका विभिन्न नाम गरेको आयुर्वेद उपचार केन्द्रमा ग्यारेन्टीका साथ उपचार निको नभए पैसा फिर्ता भनी जताततै प्रचार गरिएको छ, उहाँले भन्नुभयो ।

भ्रामक प्रचार प्रसार तथा अवैध औषधिको खुलेआम बेचबिखनको कारण झापामा लाखौँ रकम लगानी गरेर नेपाल सरकारको स्वीकृति लिई सञ्चालनमा रहेका आयुर्वेद अस्पताल, क्लिनिक सेन्टर, आयुर्वेद औषधिका खुद्रा तथा थोक व्यवसायीहरू धराशायी बनेको र लगानी डुब्ने अवस्थामा रहेको नेपाल आयुर्वेद औषधि व्यवसायी सङ्घ झापाकी अध्यक्ष नर्वदा भट्टराईले बताउनुभयो ।

भारतबाट नेपालमा आई विनादर्ता खोलिएका र भारतीय सिमाना खोलिएका अवैध उपचार केन्द्रको नाममा नेपालको सीमाभित्र भित्तामा टाँसिने ग्यारेन्टीसहितका भ्रामक पम्पलेट, पर्चालगायतका सामग्री नेपालमा प्रतिबन्ध लगाउन, खुलेआम रूपमा अवैध आयुर्वेदिक औषधीहरू झोलामा बेचबिखन गर्ने समूह तथा व्यक्तिहरूलाई कानुन बमोजिम कारबाहीको दायरामा ल्याउन माग गरिएको भट्टराईको भनाइ छ ।