• १३ असोज २०८१, आइतबार

खानेपानीको समस्याले रित्तिएको गाउँ

blog

खानेपानीको समस्याले रित्तिएको खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित पुरानो गाउँ । तस्बिर : राजकुमार भट्टराई

राजकुमार भट्टराई
खोटाङ, चैत १३ गते ।
 खानेपानीको चरम समस्याले खोटाङको एउटा गाउँ रित्तिएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका –११ राजापानीस्थित पुरानो गाउँ खानेपानीको समस्याले रित्तो भएको हो ।

करिब ५५ घर परिवार बसोबास गर्ने पुरानो गाउँमा अहिले जम्मा ४ घर मात्र बाँकी रहेका छन् । ५१ घर परिवार पुरानो गाउँबाट बसाइसराइ गएपछि अहिले गाउँ बनमारा घारीले घेरिएको छ । प्रायः घरहरू लडिसकेका छन् भने केही घर लड्न तरखरमा छन् । मानिसको बसोबास हुँदासम्म मकै, गहुँ, गहत, दाल प्रशस्त फल्ने बारीमा अहिले सेतो बनमारा मात्र भेटिन्छ ।

सगरमाथा राजमार्गले छोए पनि खानेपानीको समस्याले ग्रसित पुरानो गाउँवासी अन्ततः गाउँ छाड्न बाध्य भएका हुन् । अहिले उक्त गाउँमा बस्दै आएका चार घरमध्ये एक घरमा बस्दै आउनु भएका नवराज रेग्मी बाध्यताले मात्र बस्नु परेको बताउनुहुन्छ ।

महंकला आधारभूत विद्यालयको प्रधानाध्यापकसमेत रहनु भएका रेग्मी घरमा एक्लै बस्दै आउनुभएको छ । उहाँले परिवारका अन्य सदस्य अन्यन्त्र ठाउँमा बसाइसराई  गइसकेको र आफू बाध्यताले मात्र बसेको बताउनुभयो ।


सोही गाउँमा बस्दै आउनु भएका हर्कराज कार्कीको परिवार बाख्रा पालनका लागि बसेको बताउनुहुन्छ । ‘‘प्रायः सबै गाउँ छाडेर गइसके, केही घर छौँ, त्यो पनि बाध्यताले मात्र बसेका छौँ । रेग्मीटारमा घर बनाइसकेका छौँ, तर यहाँ बाख्रा पालनका लागि मात्र बस्दै आएका छौँ ।’’ कार्कीले भन्नुभयो ।

पुरानो गाउँ छाडेर जाने मुख्य कारण खानेपानी नै रहेको उहाँको भनाइ छ । केही पर रहेको कुमाले गाउँ अवस्थित मसाने खोलाको पानी ल्याएर पुरानो गाउँवासीले प्रयोग गर्दै आएका थिए । पिउनका लागि दिनको दुई/दुई गाग्री मात्र पानी भर्न पाए पनि गाईवस्तुलाई दिन, नुहाउन, कपडा धुनका लागि करिब दुई/तीन घण्टा हिँडेर साप्सु खोला पुग्नु पर्ने बाध्यता थियो । पिउनका लागि दुई गाग्री पानी लिए बापत पानीको मुहान धनीलाई धान दिनु पर्ने नियम थियो ।

गाउँ नजिक पानीका मुहान नभएर खानेपानीको चरम समस्या भोगिरहेका पुरानो गाउँवासी एकाएक गाउँ छाडेर हिँडेका छन् । केही परिवार उदयपुरको गाईघाट र विराटनगर लगायत अन्य स्थान गएका छन् । केही परिवार भने राजापानीकै पुछार रेग्मीटार गएका छन् । अधिकांश व्यक्तिको भूकम्पबाट पुनर्निर्माणमा घर परेपछि रेग्मीटारमा घर बनाएर गएका छन् । 

पुरानो गाउँ (कटहरे) मा बस्दै आउनु भएका अर्का परिवार कमलराज रेग्मीको परिवारलाई भने ६.६ मेगावाट क्षमताको साप्सु खोला जलविद्युत आयोजनाको भर रहेको सुनाउनुहुन्छ । घर नजिकै जलविद्युत आयोजनाको सब-स्टेशन रहेकाले केही आशाले बसेको रेग्मी बताउनुहुन्छ ।

सगरमाथा राजमार्गले छोएको पुरानो गाउँमा अहिले दैनिक सवारी साधन ओहोरदोहोर गर्छन् । विद्युतको सुविधा पुगेको छ, स्थानीय सरकारले गाउँ भित्र सडकको ट्र्याक पनि खनिदिएको छ । अहिले थोरै घर भएपछि खानेपानीको समस्या पनि केही हदसम्म समाधान भएको छ । तर बस्ती भने रित्तिएको छ ।  खेतीयोग्य बारी बनमारा घारी भएका छन् ।