• १३ असोज २०८१, आइतबार

बर्दिवास महोत्सव शुक्रबारदेखि

blog

बर्दिवासमा महोत्सवको चौथो संस्करण हुँदै । । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दिवास, चैत १ गते ।
बर्दिवास महोत्सवको चौथो संस्करण शुक्रबार (चैत ३ गते)देखि सुरु हुने भएको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले विभिन्न जातजाती, पेशाकर्मी, व्यापारी, व्यवसायी, रङ्गकर्मीलगायतको सहभागितामा महोत्सव गर्न लागेको जानकारी दिएको छ । महोत्सव आयोजनको तयारी अन्तिम चरणमा पुगेको सङ्घले जनाएको छ ।

बर्दिवास उवा संघका अध्यक्ष विष्णुबहादुर खड्काले गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै भौगोलिक, सांस्कृतिक एवम् वातावरणीय विविधता रहेको महोत्तरीमा कृषि, उद्योग, पर्यटन तथा ऐतिहासिक परम्परा र संस्कृतिलाई जिवत बनाई विकाश र समृद्धिमा योगदान पुर्‍याउने उद्देश्यले महोत्सव गर्न लागिएको जानकारी दिनु भयो ।

महोत्तरीका धार्मिक सांस्कृतिक परम्परा र सम्पदाकाे संरक्षण, आन्तरिक पर्यटनको संवर्द्धन तथा व्यापार व्यवसायको प्रवर्द्धनमा यो महोत्सवले योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

अध्यक्ष खड्काले भन्नुभयोे, ‘‘महोत्सवलाई परिष्कृत, व्यवस्थित, सफल र उदाहरणीय बनाउन  सबैसँग आग्रह गर्दछौं ।’’

बर्दिवास नगरपालिकाको संरक्षकत्वमा आगामी चैत ३ गतेदेखि १३ गतेसम्म आयोजना हुने चौथौं संस्करणमा स्थानीय उत्पादन र पर्यटकीय गन्तव्यबारे सूचनामूलक प्रस्तुति, जातीय रहनसहन, खानपान र भेषभूषाको प्रर्दशन गरिने जनाइएको छ ।

मधेश प्रदेश होटल एवम् पर्यटन व्यवसायी महासंघले महोत्सवप्रति गहिरो अभिरुचि देखाएको छ । महासङ्घका अध्यक्ष हिरा गौतमले महोत्सव र पर्यटनबीच अन्याेन्याश्रित सम्बन्ध रहेको जनाउँदै स्टल व्यवस्थापनका लागि प्रदेशका आठ वटै जिल्लामा समन्वय गर्ने बताउनुभयो ।

गौतमले यसको सफलताका लागि दल, समाज, व्यापारी, पेसाकर्मी सबैलाई समेटर लानुपर्ने धारणा राख्नुभयो ।

आयोजक बर्दिवास उवा सङ्घका महासचिव उत्तम श्रेष्ठका अनुसार महोत्सव स्थलमा व्यापारिक प्रयोजनका १७० स्टल राखिने व्यवस्था मिलाइएको छ । तीमध्ये स्थानीय उत्पादन र सीपमूलक प्रदर्शनका लागि स्टल वितरणलाई प्राथमिकतामा राखिएको छ । यसका साथै मौलिक उत्पादनको प्रतियोगितात्मक प्रदर्शनीको व्यवस्था पनि छ ।

कृषि उपज, सङ्घसंस्थालाई प्राथमिकतामा राखिएको श्रेष्ठले जनाउनुभयो ।

महोत्सवमा लाखभन्दा बढी अवलोकनकर्ताले भ्रमण गर्ने आयोजकको अनुमान छ । अवलोकनकर्तालाई मनोरञ्जन दिन सांस्कृतिक कार्यक्रम, दोहाेरी गीत, अन्तर विद्यालय नृत्य प्रतियोगिता, बाल उद्यान जस्ता मनोरञ्जनको विविध व्यवस्था  गरिएको छ ।

आयोजक बर्दिवास उवा सङ्घले महोत्सवमा पहिलोपटक बीमाको व्यवस्था मिलाएकाे छ । उद्योग, पर्यटन, कृषि एवम् क्रेता विक्रेताबीच अन्तरक्रिया को व्यवस्था गरिएको छ ।

अवलोकनका लागि प्रतिव्यक्ति टिकट शुल्क ६० रुपियाँ तोकिएको छ । यद्यपि महोत्सव शिक्षामूलक र  विज्ञान प्रेरित भएकोले विद्यार्थीलाई भने ४० प्रतिशत छुट दिने निर्णय गरिएको छ ।

दश दिनसम्म चल्ने महोत्सवमा तीन करोडभन्दा बढीको कारोवार, ६० लाख आम्दानी र ५५ लाख खर्चको अनुमानित विवरण प्रस्तुत गरिएको छ । बचत भएको रकमबाट व्यापारिक हकहितका लागि खर्च गरिने महसचिव श्रेष्ठले जनाउनुभयो ।