• ६ जेठ २०८१, आइतबार

जनकपुरधाममा तीन दिवसीय साहित्य महोत्सव हुँदै

blog

तीन दिवसीय जनकपुर साहित्य महोत्सवबारे पत्रकार सम्मेलनमा जानकारी दिइँदै । तस्बिर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, फागुन ८ गते । मधेशको राजधानी जनकपुरधाममा विगत तीन वर्षदेखि लगातार हुँदैआएको ‘जनकपुर साहित्य महोत्सव’ को चौथो संस्करण यस वर्ष पनि हुनेभएको छ । फागुन ११ गतेदेखि महोत्सव शुरु हुने आयोजकले जनाएको छ ।  

आइतबार पत्रकार सम्मेलन मार्फत आयोजक संस्था नव मिथिला फाउण्डेशनले यही फागुन ११ गतेदेखि फागुन १३ गतेसम्म ‘जनकपुर साहित्य महोत्सव’ को चौथो संस्करण हुने जनाएको छ ।  

तीन दिवसीय जनकपुर साहित्य महोत्सवको प्रमुख प्रायोजकको रुपमा फ्याक्ट्स नेपाल रहेको छ । विगत २०७६ देखि प्रत्येक वर्ष आयोजना हुँदैआएको महोत्सवमा यस वर्ष साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीतिसम्बन्धी विभिन्न २० वटा ओपन–एयर प्यानल छलफल हुने आयोजक नव मिथिला फाउण्डेशनका उपाध्यक्ष आदित्य नेपालले जानकारी दिनुभयो ।

जनकपुर साहित्य महोत्सवमा विद्यार्थी, राजनीतिज्ञ, कलाकार, संगीतकार, लेखकलगायतको सहभागिता रहने उहाँले बताउनुभयो । महोत्सवमा नेपालभरिका साहित्यप्रेमीहरूको सहभागिता रहने उहाँले बताउनुभयो ।

साहित्य महोत्सवको उदघाटनसत्र फागुन ११ गते दिउँसो २ : ३० बजेदेखि जानकी मन्दिर परिसरमा हुनेछ । कार्यक्रमको उदघाटन पूर्व राष्ट्रपति डा. रामवरण यादवले गर्नुहुनेछ । त्यसैगरी, प्रबुद्ध मन्तव्य राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ र डा. विजयकुमार सिंह (दनुवार) ले राख्नुहुने आयोजकले जनाएको छ । 

साहित्यिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको महोत्सवमा देशभरिका ख्याति प्राप्त स्रष्टाहरूको सहभागिता रहने आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न विधालाई समेट्दै २० भन्दा बढी सत्रहरू रहने बताइएको छ ।