• २० वैशाख २०८१, बिहिबार

एकीकृत कारोबार फागुन १२ गते हुने

blog

काठमाडौं, फागुन ५ गते । हिमालयन बैङ्क लिमिटेड र सिभिल बैङ्कको एकीकृत कारोबार यही फागुन १२ गतेदेखि हुने भएको छ । हिमालयन बैङ्कले सिभिल बैङ्कलाई प्राप्ति गरेपछि सोही दिनदेखि एकीकृत कारोबार गर्ने तय भएको हो ।

नेपाल राष्ट्र बैङ्कले दुवै बैङ्कलाई गत माघ १७ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो । केन्द्रीय बैङ्कले अन्तिम स्वीकृत दिँदै फागुन १६ गतेसम्म एकीकृत कारोबारको समय तोकेको थियो । राष्ट्र बैङ्कले तोकेको समयभन्दा अगाडि नै बैङ्कले एकीकृत कारोबारको मिति तोकेको हो ।

हिमालयन बैङ्क र सिभिल बैंकबीच एक सय बराबर ८० कित्ता  (१००ः८०) को स्वाप रेसियो अर्थात् सिभिल बैङ्कको एक सय कित्ता शेयर बराबर हिमालयन बैङ्कको ८० कित्ता शेयर अनुपात हुने सिभिल बैङ्कका मर्जर समिति संयोजक अम्बिर बोगटीले जानकारी दिनुभयो । एकीकृत कारोबार अगाडि दुवै बैङ्कले सिस्टम अपग्रेडका लागि दुई दिन कारोबार बन्द गर्ने जनाएका छन् ।

पन्ध्र दिन कारोबार बन्द

यही फागुन १२ गते हिमालय बैङ्कले सिभिल बैङ्कलाई प्राप्ति गरेपछि सिभिल बैङ्कको शेयर कारोबार १५ दिन रोक्का हुने भएको छ । दुई बैंकबीच मर्जरपश्चात् एकीकृत कारोबार सुरु भएपछि सिभिल बैङ्कको शेयर रोक्का हुने भएको हो ।

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सिभिल बैङ्कले बिहीबार सूचना पठाउँदै आगामी फागुन १४ देखि चैत २ गतेसम्म बन्द हुने जनाएका हो ।

यही फागुन १२ गते हिमालयन बैङ्कसँग मर्ज हुन लागेको सिभिल बैङ्कको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकरण तथा सूचीकरण प्रयोजनका लागि शेयर कारोबार रोक्का हुन लागेको हो ।