• २६ पुस २०८१, शुक्रबार

रेशम चौधरीलाई तत्काल रिहा गर्नुपर्छ : सांसद देव

blog

सङ्घीय संसद् नयाँ बानेश्वरमा शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा मन्तव्य व्यक्त गर्नुहुँदै जितेन्द्रनारायण देव । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं, पुस २९ गते। नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री जितेन्द्रनारायण देवले कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलगायतलाई तत्काल रिहा गर्न सरकारलाई दबाब दिनुभएको छ। 

शुक्रबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले टीकापुर घटना राजनीतिक घटना भएकाले रेशम चौंधरीलगायतका बन्दीलाई तत्काल रिहा गरेर सरकारले न्याय दिनुपर्ने तर्क गर्नुभएको हो। 

उहाँले मुलुकको राजनीतिक आन्दोलनमा धेरै मान्छे मारिए पनि उनीहरुले न्याय पाएको तर टिकापुर घटनामा परेकाले भने न्याय नपाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो। 

सांसद देवले भन्नुभयो, ‘यो मुलुकमा धेरै ठूलाठूला आन्दोलन भए। ठूलाठूला आन्दोलनको नेतृत्व कहिले नेपाली कांग्रेसले ग¥यो, कहिले माओवादीले गर्‍यो। यो देशमा मधेश आन्दोलन भयो। यो देशमा थारु आन्दोलन भयो। हरेक आन्दोलनमा मान्छे मारिएका छन्। स्वतस्फूर्त आन्दोलनमा मान्छेहरु मारिएका छन्। थारुले गरेको आन्दोलन राजनीतिक आन्दोलन थियो। अन्याय भएको छ–रेशम चौधरीमाथि। अन्याय भएको छ थारुमाथि। त्यसलाई संशोधन गर्नुपर्दछ।’

सांसद देवले संविधानको रक्षा गर्नका लागि कांग्रेसले सरकारलाई विश्वासको मत दिनुपरेको स्पष्टीकरण दिनुभयो। उहाँले संविधानको रक्षा गर्दै सुशासन, विकास, भ्रष्टाचार नियन्त्रण र जनतामा सेवा प्रवाहको कामलाई सहज बनाउन नसके सरकारलाई दिएको समर्थन आफ्नो पार्टीले फिर्ता लिन सक्ने अडानसमेत राख्नुभयो। सांसद देवले सरकारलाई भारत र चीन दुवै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध कायम गरेर अघि बढन सुझाव दिनुभयो। 

कांग्रेस नेतृत्वको सरकारले दुवै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध अगाडि बढाएको थियो। त्यसलाई यो सरकारले कायम राख्नुपर्दछ। दुवै छिमेकी मुलुक कसैले पनि आशङ्का पाल्नुपर्ने वा कसैले हौसिनुपर्ने अवस्था नहोस्। दुवैसँग अत्यन्त सुमधुर सम्बन्ध राखेर, दुवैको सहयोग प्राप्त गरेर नेपालको विकास र समृद्धिको बाटोमा यो सरकार अगाडि बढोस् भन्ने हामी चाहन्छौं।’

सांसद देवले सरकारले कुनै छिमेकीसँग हौसिने र कुनै छिमेकीसँग आशङ्का पालेर अघि बढ्न नहुने धारणा राख्नुभयो।