• २० असोज २०८१, आइतबार

महाभारत गाउँपालिका जोड्ने पुल अलपत्र

blog

बनेपा समाचारदाता 

बनेपा, पुस १४ गते  । काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका जोड्ने पक्की पुल निर्माणको काम अलपत्र परेको छ। महाभारत गाउँपालिका–४, तीनखुट्टेस्थित खानीखोला र पार्वती खोलामा पुल निर्माणाधीन अवस्थामा छ। सो पुल निर्माणका लागि २०७८ असारमा मृत सञ्जीवनी प्रदेज जेभीसँग सम्झौता भएको थियो। 

निर्माण कम्पनीले खानीखोला र पार्वती खोलामा एक/एकवटा पिल्लर बनाए पनि खानीखोलातर्फ निर्माण हुनुपर्ने पिल्लरको रड मात्रै ठडाएर राखेको छ। स्थानीय शुभकर्ण दर्लामीले पुल निर्माणको ठेक्का पाएको कम्पनीले समयमा काम नगर्दा स्थानीयवासी समस्यामा परेको बताउनुभयो। “बाटो र पुल आयो भनेर नेताहरू गाउँमा आएर भाषण गर्छन्, झन्डै एक वर्षदेखि निर्माणाधीन पुलको काम रोकिएको छ,” दर्लामीले थप्नुभयो। उहाँले दुईवटा खोलामा पुल निर्माणका लागि तीनवटा पिल्लर निर्माण गर्नुपर्ने भए पनि ठेकेदारले दुईवटा पिल्लर निर्माण गरेर काम छोडेर हिँडेको बताउनुभयो। उहाँले खानीखोला र पार्वतीखोलामा समयमा नै पुल निर्माण नहुँदा वर्षायाममा आवतजावत गर्न समस्यासँगै रोसी गाउँपालिकाको कटुञ्जेसम्म बिरामी बोकेर जानुपर्ने बाध्यता रहेको बताउनुभयो।

पुल निर्माणको ठेक्का पाएको कम्पनीले गत वर्ष मङ्सिरदेखि पुल निर्माणको काम सुरु गरे पनि गत वैशाखदेखि काम रोकेको स्थानीय धनबहादुर बम्जनले बताउनुभयो। उहाँले पालिकामा गएर पुल निर्माणको काम अघि बढाउन खबरदारी गर्दा प्रयास गरिरहेको जवाफ आउने गरेको बताउनुभयो। 

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले निर्माण कम्पनीले गत जेठ महिनादेखि पुलको काम रोकेको भन्दै वर्षायाममा समस्या हुने गरेको बताउनुभयो।  पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकका इन्जिनियर चन्द्रदेव भट्टले पुल निर्माणको ठेक्का पाएको कम्पनीले तीनवटा पिल्लरमध्ये दुईवटा पिल्लर निर्माण गरेको बताउँदै बागमती प्रदेश सरकारको चार करोड नौ लाख ७३ हजार ५०७ रुपियाँको बजेटमा निर्माण ठेक्का सम्झौता भएको बताउनुभयो।