• १९ असोज २०८१, शनिबार

तराईमा यस वर्षकै बढी चिसो, जनजीवन कष्टकर

blog

जनार्जन खत्री

सर्लाही, पुस १३ गते । सर्लाहीसहित तराईका जिल्लाको न्यूनतम तापक्रम बुधबार यो वर्षकै कम मापन गरिएको छ । बुधबार बिहान ७ बजेको मापन अनुसार सर्लाहीको तापक्रम नौ डिग्री सेल्सियसमा झरेको हो । अघिल्ला दिनहरुमा जिल्लाको न्यूनतम तापक्रम ११/१२ डिग्री सेल्सियसको हाराहारीमा हुन्थ्यो । 

सर्लाहीमा बुधबार दिनभर बाक्लो हुस्सु लागेर शित झरेका कारण जिल्लावासीले अत्यधिक चिसो महसुस गरे । कठ्याङग्रिँदो चिसोले अतिविपन्न, दलित, मजदुर, किसान प्रभावित बनेका छन् ।विद्यालय जानुपर्ने विद्यार्थी पनि प्रभावित भएका छन् ।

शरीरमा लगाउने न्यानो कपडा र राति सुत्दाका लागि ताता ओढनेओछ्याउने नभएका डोम, चमार, मुसहरजस्ता अति पिछडिएको वर्ग चिसोमा कठ्याङ्ग्रिएरै बस्न बाध्य भइरहेका छन् । चिसो छल्न स्थानीयहरु घर तथा चोक बजारमा आगो बालेर तापिरहेका छन् ।

चिकित्सकले यो चिसोमा बालबालिका, वृद्धवृद्धा र शारीरिक रुपमा अशक्त रहेका व्यक्तिहरुलाई गाह्रो पर्ने भएकाले उनीहरुको विशेष ख्याल गर्न र झोलिलो तथा ताता खानेकुरा प्रशस्त खान सुझाव दिएका छन् । सर्लाहीसहित तराई क्षेत्रमा मङ्सिर अन्तिम साताबाट चिसो निरन्तर बढिरहेको छ । सर्लाहीमा चिसोले कठ्याङ्ग्रिएर हरिपुरमा तीन र हरिवनमा एक जनाको मृत्यु भइसकेको छ ।