• १९ असोज २०८१, शनिबार

मधेश प्रदेश सभा सदस्यहरूको शपथ ग्रहण पुस १५ गते

blog

धर्बेन्द्र झा

जनकपुरधाम, पुस ११ गते । मधेश प्रदेश सभामा निर्वाचित हुनुभएका प्रदेश सभा सदस्यहरूको शपथ ग्रहण पुस १५ गते हुनेभएको छ । प्रदेश सभा सचिवालयका निमित्त सचिव रञ्जितकुमार यादवले सोमबार बोलाउनुभएको सर्वदलीय बैठकबाट पुस १५ गते दिउँसो २ बजे प्रदेश सभामा शपथ ग्रहण गराउने निर्णय गरेको हो । 

मधेश प्रदेशमा निर्वाचित भएका १० दलका प्रतिनिधिहरू सहभागी भएको बैठकबाट शपथ ग्रहणको मिति तय गरेको प्रदेश सभा सचिवालयका निमित्त सचिव यादवले जानकारी दिनुभयो ।  

मधेश प्रदेशमा रहेको सबैभन्दा ज्येष्ठ सदस्य गोविन्द न्यौपानेले शपथ ग्रहण गराउनु हुने कार्यक्रम रहेको छ । ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउनुभन्दा अघि प्रदेश प्रमुख हरिशंकर मिश्रबाट शपथ ग्रहण राउन हुने कार्यक्रम रहेको छ । न्यौपाने ७१ वर्षको हुनुभएको छ । 

मधेश प्रदेश सभामा सबैभन्दा ठूलो दलको रूपमा नेकपा (एमाले) ले प्रत्यक्ष तथा समानुपातिक तर्फ २३ सिट, नेपाली काँग्रेस २२, जनता समाजवादी पार्टीले १६ सिट, जनमत पार्टीले १३ सिट, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ९ सिट, नेकपा माओवादी केन्द्रले ८ सिट, नेकपा एकीकृत समाजवादीले ७ सिट जितेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी १ सिट, नेपाल सङ्घीय समाजवादी पार्टीले १ सिट र नागरिक उन्मुक्ति पार्टीले १ सिट समानुपातिक तर्फ जितेका छन् ।