• ११ असोज २०८१, शुक्रबार

बस्ती जोगाउन मादी नदीमा तटबन्धन

blog

नगरपालिकाले टेवा पर्खाल लगाउने कार्य अघि बढाउँदै गरेको पाटनको क्षेत्र । तस्बिर : गोरखापत्र

अमरराज नहर्की

तनहुँ, मंसिर २१ गते । व्यास नगरपालिका–५ पाटन क्षेत्रको मादी नदी कटानले गर्दा जोखिम परेको बस्तीको सुरक्षाको लागि व्यास नगरपालिकाको सक्रियतामा टेवा पर्खाल लगाउने कार्यको सुरु भएको छ । 

कटानले असर पारेको क्षेत्रमा जालीमा ढुङ्गा भरेर पर्खाल लगाउने कार्य धमाधम भइरहेको छ । बस्तीको संरक्षण कार्यमा नगरपालिका जुटेपछि प्रभावित बासिन्दामा खुसी भएको प्रभावित बासिन्दा तथा पाटन टोल विकास संस्थाका पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताउनुभयो ।

मादी नदीमा वर्षायामा आएको बाढीले छ सय ६३ घरधुरीका बासिन्दालाई असर  परेपछि नगर प्रमुख वैकुण्ठ न्यौपानेले चासो दिएर संरक्षणमा जुट्नु भएकोले खुसी लागेको श्रेष्ठ बताउनुहुन्छ ।  गत २०७८ भदौ ९ गते मादी नदीको कटानले बस्तीका धेरै घर जोखिममा परेपछि व्यास नगरप्रमुख न्यौपानेले तत्कालै स्थलगत अवलोकन गरी बस्ती संरक्षणको लागि पहल गर्ने आश्वासन दिनुभएको र सोही अनुसार काम भएको श्रेष्ठ बताउनुहुन्छ ।  

नगरपालिकाको पहलमा गण्डकी प्रदेश सरकारको दुई करोड ५० लाख रुपियाँ लागतमा क्याबिन वाल लगाउन थालिएको मादी तटबन्धन निर्माण समितिका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिनुभयो  । वडा नम्बर ५ को पाटनमा एक सय दुई मिटर र व्यास–३ को भतेरीमा दुई सय ५८ मिटर लामो क्याबिन पर्खाल लगाएर संरक्षण गर्न उक्त बजेट विनियोजन भएको उहाँले जानकारी दिनुभयो  ।

व्यास–५ पाटनका ६६३ र व्यास व्यास– ३ का ४०० घर गरी करिब ११ सय घर नदी कटानको जोखिममा रहँदै आएको छ । पाटनतर्फ तीन सय मिटरमा जाली पर्खाल लगाउने योजना भएपनि पहिलो चरणमा एक सय दुई मिटरमा टेवा पर्खाल लगाउन प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ । 

समितिका अनुसार नदी कटानले गर्दा पाटन र तल्लो पाटन क्षेत्रका करिब एक दर्जन सङ्घसंस्थाका भौतिक संरचनासमेत धरापमा परेको छ । नदीले करिब ३० मिटर क्षेत्र कटान गरी नदी किनारमा लगाइएका बाँसको गाँज समेत ढालेर बस्तीतर्फ मोडिएपछि उच्च जोखिममा परेको थियो । 

दुई महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी एम आर एण्ड ग्रुप प्रालिले निर्माणको जिम्मा पाएको नगरपालिकाले जनाएको छ । वृद्धाश्रम, भजनकीर्तन समितिको भवन, गुरुकुल आश्रम, पाटन खेलकुद मैदान, पाटन पराशर पार्क, भूपू भवन, सामुदायिक भवन, पराशर माध्यमिक विद्यालयलगायतमा नोक्सान पु¥याएको छ ।

तल्लो पाटनमा मगर, गिरी बस्ती, विद्यालय क्षेत्रमा सबै मिश्रित जातजाति र झोलुङ्गे पुल आसपास क्षेत्रमा नेवार समुदायका मानिसको बसोबास रहेको छ । मादीनदीले कटान गरी जोखिम बनाएको पाटन, दमौली, सिसाघाट बजार, कलेस्ती बजार, गौ संरक्षण क्षेत्रलाई संरक्षण गर्न सङ्घीय सरकारबाट बजेट विनियोजनको लागि पहल भइरहेको नगरपालिकाले जनाएको छ ।

गत वर्ष ५० करोड र यस वर्ष २९ करोड रुपियाँ विनियोजन भएको छ । बर्सेनि नदी कटानबाट जोखिममा बसोबास गर्दै आएका बासिन्दालाई सुरक्षित गर्न नगरपालिकाबाट पहलकदमी भइरहेको नगर प्रमुख वैकुण्ठ न्यौपाने बताउनुभयो ।