• १३ असोज २०८१, आइतबार

जनप्रतिनिधिहरू धन्यवाद दिन व्यस्त

blog

लमजुङ समाचारदाता

लमजुङ, मङ्सिर १५ गते । मङ्सिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा निर्वाचित जनप्रतिनिधिहरू मतदातालार्ई धन्यवाद व्यक्त गर्न व्यस्त छन्। प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा (एमाले) का पृथ्वीसुब्बा गुरुङ, प्रदेश सभा (क)मा निर्वाचित टकराज गुरुङ, (ख)मा निर्वाचित भेषबहादुर पौडेल गाउँगाउँमा पुग्नुभएको छ। 

निर्वाचनअघि मत माग्न गाउँ पुग्नुभएका उहाँहरू निर्वाचित भएपछि पनि धन्यवाद दिन गाउँगाउँ पुग्नुभएको हो। प्रतिनिधि सभा सदस्यमा निर्वाचित गुरुङ आफ्नो जन्मथलो क्व्होँलासोंथर गाउँपालिका–९, गिलुङ टक्सार, पालिकाका अन्य गाउँ, मध्यनेपाल नगरपालिकाका केही गाउँ, सुन्दरबजारको दुराडाँडा, राइनास नगरपालिका र मस्र्याङ्दी गाउँपालिकाका केही ठाउँमा पुग्नुभएको छ। 

प्रदेश सभा (क)मा निर्वाचित डा. टकराज गुरुङले अधिकांश ठाउँमा पुगेर मतदातालाई धन्यवाद ज्ञापन गरेको बताउनुभयो। उहाँ दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकाबाहेक सबै पालिकामा धन्यवाद ज्ञापन गर्न पुग्नुभएको छ। 

त्यस्तै प्रदेश सभा (ख)मा निर्वाचित भेषबहादुर पौडेल नागरिकलाई धन्यवाद दिने कार्यमा व्यस्त रहेको बताउनुहुन्छ। अमूल्य मत दिएर विजयी गराउने मतदाताप्रति आभार व्यक्त गर्दै उहाँले भेटघाट गर्न गाउँ पुगेको बताउनुभयो। जनअपेक्षा र जनभावनाअनुसार आफ्नो क्षमताले भ्याएसम्म जिल्लाको विकासमा जोड दिने उहाँले बताउनुभएको छ।