• ९ मंसिर २०८१, आइतबार

घरदैलोपछि उम्मेदवार उत्साही

blog

बागलुङ, समाचारदाता

बागलुङ, मङ्सिर १ गते ।  प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा मत माग्न मतदाताको घरदैलोमा पुगेका नेकपा (एमाले)का उम्मेदवारहरू सर्वसाधारणसँगको भेटपछि उत्साही भएका छन्। मतदाताले दिएको सकारात्मक प्रतिक्रिया, राजनीतिक प्रतिबद्धता, विकासका मुद्दासँगै आवश्यक सुझाव सल्लाहबाट प्रोत्साहन मिलेको उम्मेदवारले बताएका हुन्। 

बागलुङ क्षेत्र नम्बर नं. १ मा नेकपा (एमाले)बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्य पाठक, गण्डकी प्रदेश सभा नं. १ (क)का उम्मेदवार हीराबहादुर केसी र क्षेत्र नं.१ (ख)का उम्मेदवार नवराज पौडेलले आ–आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई एकसरो भेट गरी सुझाव सङ्कलन गरिएको बताउनुभयो। 

मतदाताले आफूहरूसँग विकासको पूर्वाधार निर्माण, खेतीबालीमा बाँदर नियन्त्रणदेखि राष्ट्रियता, वैदेशिक रोजगार र मतदान, सामाजिक सुरक्षाजस्ता गम्भीर मुद्दामा सचेत र सजग गराएको प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. पाठकले बताउनुभयो। “मतदाताहरू विकास, समृद्धि, राष्ट्र, राष्ट्रियताको बारेमा चिन्तित हुनुहुन्छ,” उहाँले भन्नुभयो, “राजनीतिमा युवा पुस्ताको नेतृत्व स्थापित गर्न मतदाता आतुर हुनुहुन्छ।” 

मतदाताको साथ, समर्थन, जिल्लाव्यापी सङ्गठनात्मक संरचना, राजनीतिमा युवा पुस्ताको मागलगायतका विषयले एमालेका उम्मेदवार विजयी हुने एमाले जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य उम्मेदवार हीराबहादुर केसीले बताउनुभयो। 

घरदैलोका क्रममा केही मतदाताले आफूहरूले मत राख्न नपाएको, अन्य पार्टीका नेता कार्यकर्ताले आफ्नो नाममा भोट राख्ने गरेको र मतपत्र खोसी जबरजस्ती भोट हाल्ने गरेको गुनासो गरेको उहाँले बताउनुभयो। 

आगामी निर्वाचनमा ‘एक व्यक्ति एक भोट’ नभए राजनीतिक हिंसा र द्वन्द्व बढ्ने एमाले अध्यक्ष केसीले चेतावनी दिनुभयो। “मतदाताले ढुक्कसँग आफ्नो भोट राख्ने वातावरण तयार गर्नु राज्यको दायित्व हो,” उहाँले भन्नुभया, “सबै बुथमा लोकतन्त्र आउनुपर्छ।” 

विशेष गरी बागलुङ क्षेत्र नं. १ को बागलुङ नगरपालिका– ११, रायडाँडा, जैमिनी नगरपालिका–१०, राङखानी, बरेङ गाउँपालिकाको धुल्लुबाँस्कोट र काठेखोला गाउँपालिका–४, तग्राममा मतदाताले स्वतन्त्रपूर्वक मत राख्न नपाउने, मृतक तथा वैदेशिक रोजगारमा रहेका मतदाताको नामको भोट राख्नेजस्ता अलोकतान्त्रिक गतिविधि हुने त्रास रहेको एमालेले जनाएको छ। 

बागलुङका यी चारवटा वडामध्ये रायडाँडा नेपाली कांग्रेस, तङ्ग्राम, धुल्लुबाँस्कोट र राङखानी राष्ट्रिय जनमोर्चाको पकड क्षेत्र हुन्। क्षेत्र नं. १ मा गठबन्धनबाट राजमोका अध्यक्ष चित्रबहादुर केसी उम्मेदवार हुनुहुन्छ। बागलुङ क्षेत्र नं. १ का मुख्य निर्वाचन अधिकृत डा. दिवाकर भट्टले फर्जी मत नखस्ने बताउनुभएको छ। 

“हामीले निर्वाचन अधिकृतहरूलाई फर्जी मत रोक्ने उपायसहित कडा निर्देशन तथा प्रशिक्षण गरेका छौँ,” उहाँले भन्नुभयो, “मत राख्न सरकारी प्रमाणपत्र र त्यसमा भएको नागरिकता नम्बर नमिले मत राख्न पाउने छैनन्। 

प्रमुख जिल्ला अधिकारी रमेश ढकालले निर्वाचनका बेला संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको बताउनुभयो। आवश्यकता र औचित्यको आधारमा सुरक्षाकर्मीहरूको सङ्ख्या घटबढ हुने जानकारी उहाँले दिनुभयो।