• १३ साउन २०८१, आइतबार

गठबन्धन उम्मेदवार रावललाई टक्कर दिँदै चौधरी र न्यौपाने

blog

एकिन्द्र तिमिल्सेना

टीकापुर कात्तिक ३० गते । कैलाली क्षेत्र नम्बर १ प्रदेश सभा (ख) निर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. रणबहादुर रावल गठबन्धनबाट उम्मेदवार हुनुहुन्छ । 

नेता रावललाई नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार लक्ष्मणकिशोर चौधरी र नेकपा (एमाले) का युवा नेता द्वारिकाप्रसाद न्यौपानेले टक्कर दिने देखिएको हो । २०७४ मा एमाले र माओवादी केन्द्रको गठबन्धन भएका बेला पनि कांग्रेसबाट विजयी रावललाई यस पटक विरासत जोगाउन चुनौती देखिएको छ । 

उन्मुक्तिका चौधरी रावलका २०७४ कै प्रतिस्पर्धी हुनुहुन्छ । टीकापुर नगरपालिका नै प्रदेश सभा (ख) क्षेत्र भएकाले यहाँ गत वैशाखमा सम्पन्न चुनावमा दलहरूले पाएको मतका आधारमा विश्लेषण सुरुभएको छ । 

गत वैशाखको निर्वाचनमा नगरप्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी केन्द्र र वडा नम्बर १ को वडाध्यक्ष एकीकृत समाजवादीले लिएर गठबन्धन गरेका थिए । तर उपप्रमुख मात्रै जितेको थियो । नगरप्रमुखमा नागरिक उन्मुक्ति र वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका थिए । 

नगरप्रमुखमा नागरिक उन्मुक्तिका उम्मेदवार नौ हजार ६४२ मत पाई विजयी हुनुभएको थियो । कांग्रेसका उम्मेदवारले छ हजार ६४२ र एमालेका उम्मेदवारले चार हजार ९३३ मत पाउनुभयो ।  

वडामा मैत्रीपूर्ण प्रतिस्पर्धा गरेका कांग्रेस–माओवादीको मत एक ठाउँमा आउँदा भने गठबन्धनका उम्मेदवार सहजै विजयी हुने सम्भावना देखिन्छ । टीकापुरका तीन वडाध्यक्षमा कांग्रेस, तीन वडाध्यक्षसहित उपप्रमुखमा माओवादी केन्द्र, दुई वडाध्यक्षसहित नगरप्रमुख नागरिक उन्मुक्ति र एउटा वडाध्यक्ष एमालेले जितेको छ । गठबन्धनका वडाध्यक्षका उम्मेदवारले दश हजार ९९४, नागरिक उन्मुक्तिले सात हजार १३९ मत पाएका छन् ।

यस पटक गठबन्धन दलको मत एकै ठाउँमा खस्ने र आफू सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस संसदीय दलको नेता र पछिल्लो समय मन्त्री भएर गरेका विकास निर्माणका आधारमा जनमत आफ्नो पक्षमा आउने डा. रावलको भनाइ छ । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार चौधरी भने यस पटक आफ्नो पार्टीको पक्षमा लहर आएकाले स्थानीय तहझैँ आफ्नो पक्षमा मत आउने दाबी गर्नुभयो ।

यस्तै, एमाले उम्मेदवार द्वारिकाप्रसाद न्यौपाने आफूले उठाएका युवाका एजेण्डा र कर्णाली कोरिडको अवधारणा मतदाताले मन पराएकाले आफू जितको नजिक रहेको बताउनुभयो । स्थानीय तहमा बीपी कांग्रेसका वडाध्यक्षका दुई उम्मेदवार नागरिक उन्मुक्तिमा लागेका छन्  । उन्मुक्तिका नगर कमिटी अध्यक्ष स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

यहाँ दश जना उम्मेदवार चुनावी मैदानमा छन् । यस प्रदेश सभामा ५४ हजार १२२ मतदाता छन् । जसमध्ये २२ हजार चार मतदाता वडा नम्बर १ मा मात्रै छन् ।