• १३ साउन २०८१, आइतबार

कैलाली –३ (ख) मा गठबन्धनलाई स्वतन्त्र उम्मेदवारको चुनौती

blog

गठबन्धनका उम्मेदवार अम्मर साउद, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी र लक्ष्मण शाही । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), कात्तिक ३० गते । कैलाली क्षेत्र नम्बर ३ (ख) का प्रदेश सभा सदस्यमा गठबन्धनका उम्मेदवार समाजवादीका अमरबहादुर साउदलाई यस पटक स्वतन्त्र उम्मेदवारले चुनौती दिइरहेका छन् । साउदलाई सहज जित निकाल्न गाह्रो हुने आङ्कलन गरिएको छ । 

२०७४ चुनावमा नेकपा (एमाले) बाट चुनाव जितेर प्रदेश सभा सदस्य तथा राज्यमन्त्री हुनुभएका साउद गठबन्धनतर्फबाट साझा उम्मेदवार बने पनि कांग्रेसबाटै लक्ष्मण शाही र गोविन्दराज जोशीले स्वतन्त्र रूपमा उम्मेदवारी दिएर चुनौती दिनुभएको हो । 

स्थानीय तह निर्वाचनमा क्षेत्र ३ मा २६ वडामध्ये २० वडा कांग्रेसले एक्लै विजय हासिल गरेको आधारमा अहिले विजयी हुन सहज देखिएको थियो । तर गठबन्धनका उम्मेदवारलाई कांग्रेसबाटै स्वतन्त्र उम्मेदवारी दिनुभएका उम्मेदवारलाई मत जाने भएपछि साझा उम्मेदवारलाई सहज जित निकाल्न चुनौती थपिएको छ ।    

स्वतन्त्र उम्मेदवार शाही र जोशी दुवैले विजय आफूहरूको हुने दाबी गर्नुभएको छ । कांग्रेसका पूर्व कैलाली जिल्ला सभापतिसमेत रहनुभएका गोविन्दराज जोशीले पार्टीले गठबन्धन गरेर सही उम्मेदवार नदिएपछि सबैको सल्लाहले आफू उम्मेदवार बनेको बताउनुभयो । आफू त्यस क्षेत्रको पुरानो मान्छे भएको र अन्यायमा परेकाहरूको पक्षमा नियमित काम गरेकाले मतदाताले आफूलाई रोज्ने उहाँले दाबी गर्नुभयो ।  

त्यसैगरी कांग्रेसबाटै स्वतन्त्र उम्मेदवारी दिनुभएका अर्का उम्मेदवार लक्ष्मण शाहीले समेत आफू अरूभन्दा बलियो उम्मेदवार भएको दाबी गर्नुभयो । कांग्रेसको जिम्मेवार नेता भएर पनि पार्टीको निर्णयविपरित आफूले स्वतन्त्र उम्मेदवारी दिनुमा जनताको माग भएको बताउनुभयो । 

पार्टीले गतिलो उम्मेदवार नदिएको, विगतमा भएका कमी कमजोरी हटाउन, भ्रष्टाचार अन्त्य गर्न आफूले उम्मेदवारी दिएको शाहीले दाबी गर्नुभयो । जनताका पक्षमा काम गर्न आफू स्वतन्त्र उम्मेदवार बनेको यहाँले बताउनुभयो । शाहीले गठबन्धनका उम्मेदवार कमजोर रहेकाले आफ्नो प्रतिस्पर्धा नेकपा (एमाले) का उम्मेदवार जयनारायण जोशीसँग हुने बताउनुभयो ।  

एमालेका उम्मेदवार जोशीले गठबन्धनको आन्तरिक समस्याले आफूलाई जित निकाल्न सहज हुने बताउनुभएको छ । आफू जनताको पक्षमा काम गर्ने नेताको रूपमा मतदाताले पहिचान गरेको उहाँको भनाइ छ ।