• १३ साउन २०८१, आइतबार

मतदान शिक्षाबारे अनभिज्ञ रौतहटका पिछडावर्ग

blog

मतदान गर्ने जानकारी नपाउनुभएकी डोम समुदायका महिला आफ्नै काममा व्यस्त । तस्बिर: यादवराज पुरी

रौतहट, कात्तिक २९ गते । निर्वाचन आउन अव एक साता मात्र बाँकी भए पनि रौतहटको ग्रामीण क्षेत्रका गरिब, पिछडा वर्ग तथा दलित समुदायका मतदाता भने मतदान प्रक्रिया बारे अन्योलमा छन् । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मत खसाल्न को लागि प्रदान गरिने मतदान शिक्षाको पहुँच पर्याप्त नहुँदा मतदाताहरू अन्योलमा परेका हुन् । 

कति जना उम्मेदवारलाई मत दिने, कसरी मत खसाल्ने भन्ने कुराको सामान्य जानकारी समेत नभएको बताउँछन् ।  तामझाम र बाजागाजासहित भोट माग्न त आउँछन् नेताहरू तर भोट कसरी दिने भन्ने बारे कसैले नसिकाएको गुजार नगरपालिका लक्ष्मीपुर दलितवस्तीका किसान हरिश्चन्द्र रामले बताउनुभयो । 

यसै गरी चन्द्रपुर नगरपालिकाको वडा नम्बर ५ र ६ स्थित नहरको डिलमा छाप्रो बनाएर गुजार चलाउँदै आएका अधिकांश सुकुम्वासी पनि मतदान गर्न नआउने बताउँछन् । रेडियोबाट मतदान गर्ने प्रक्रिया सुनेको तर व्यावहारिक रूपमा प्रयोग गर्न भने नआउने सुकुम्वासी राजमान गोलेले बताउनुभयो । भोट खसाल्न नजान्दा अरूको सामुन्ने लाजमर्दो हुने भएपछि मतदान स्थल नै नजाने उहाँको प्रतिक्रिया छ । 

यस्तै कटहरिया नगरपालिका भसेडवामा बसोबास गरेका डोम समुदायका मतदातामा पनि उही चिन्ता छ । मतदान गर्न नजानेको कारण मतदानको दिन पनि आफ्नै काममा व्यस्त रहने समुदायकी रिना मल्लिका बताउनुहुन्छ । ‘जितेपछि नेता फर्केर आउने हैन । बरु आफ्नै काम गर्छु ।’ उहाँले भन्नुभयो ।  

१८ वटा पालिका रहेको रौतहटका ग्रामीण मतदाता मतको महत्त्व, मतदान गर्ने प्रक्रिया र सही तरिकाले मतदान गर्ने विधिबारे अन्योलमा छन् । उनीहरू यसबारे जान्न चाहन्छन् । उनीहरू माझ मतदान शिक्षाको प्रभावकारी पहुँच हुन नसकेको गुनासो बढेको छ ।

जिल्लाको सन्तपुर स्थित मुसहर बस्तीका मतदाता पनि मत खसाल्ने प्रक्रियाबारे बेखबर रहेका छन् । बस्तीका शङ्कर मल्लिका गुनासो गर्नुहुन्छ, ‘बस्तीका अधिकांश मतदाता अशिक्षित छन् । मत कसरी खसाल्ने भन्ने बारे कुनै ज्ञान छैन । पार्टीका नेता तथा कार्यकर्ताले भोट चैँ माग्छन् । मत कसरी खसाल्ने भन्ने कुरामा कुनै चासो देखाउँदैनन् । मत खेर जाने पो हो की ?’ 

जिल्ला निर्वाचन कार्यालय रौतहटले विभिन्न विद्युतीय माध्यम, पर्चा,मम्पलेटजस्ता सामाग्रीबाट मतदान शिक्षाको प्रचारप्रसार गरेको निर्वाचन अधिकृत छोटेलाल दास बताउनुहुन्छ । 

Author

यादवराज पुरी